२१ जेठ, काठमाडौं । सगरमाथाको कठिन भूगोलमा ६ दिनसम्म मृत्युसँग सङ्घर्ष गरेका ओखलढुङ्गाका पर्वतारोहण गाइड दावा शेर्पा अन्ततः सकुशल फेला परेका छन् ।
गत जेठ १५ गतेदेखि सगरमाथाको तेस्रो शिविर आसपासबाट सम्पर्कविहीन भएका शेर्पा २१ जेठको बिहान खुम्बु आइसफल क्षेत्रमा जीवितै भेटिएका हुन् । एक पोलिश आरोहीलाई सगरमाथाको चुचुरो पुर्याएर फर्किने क्रममा बेपत्ता भएका शेर्पालाई एटके एक्सपिडिसनका प्रबन्ध निर्देशक पेम्बा शेर्पाको व्यक्तिगत पहल र आर्थिक सहयोगमा खटिएको उद्धार टोलीले हिउँमा घिस्रिँदै गरेको अवस्थामा फेला पारेको हो ।
मृत्युको मुखबाट फर्किन सफल शेर्पाको हातका औंलाहरूमा गम्भीर घाउ देखिएको छ । हिमालयन ट्राभर्स एडभेन्चरमा आबद्ध दावालाई उद्धार टोलीले फेला पारेलगत्तै अल्टिच्युड एयरको हेलिकोप्टरमार्फत तत्काल थप उपचारका लागि काठमाडौं ल्याइँदैछ ।
असहज मौसम र कठिन भू–बनोटका बाबजुद पनि ६ दिनसम्म अदम्य साहसका साथ जीवित रहन सफल शेर्पाको यो उद्धारलाई पर्वतारोहण क्षेत्रमा एक चमत्कारिक घटनाका रूपमा हेरिएको छ ।


















