२१ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करको निमन्त्रणामा शुक्रबार तीन दिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गर्दै हुनुहुन्छ।
परराष्ट्र मन्त्रालयले बिहीबार सार्वजनिक गरेको कार्यतालिका अनुसार, जेठ २२ देखि २४ गतेसम्म हुने यो भ्रमणमा मन्त्री खनालले नयाँ दिल्लीमा आफ्ना भारतीय समकक्षीसँग द्विपक्षीय औपचारिक वार्ता गर्नुहुनेछ। नियमित उच्चस्तरीय कूटनीतिक संवादको निरन्तरताका रूपमा रहेको यो भ्रमणले नेपाल-भारतबीचको ऐतिहासिक र बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुर्याउने मन्त्रालयको अपेक्षा छ ।
भ्रमणको मुख्य एजेन्डा दुई देशबीचको व्यापार, लगानी, कनेक्टिभिटी, र ऊर्जा क्षेत्रमा सहकार्यलाई प्रवर्द्धन गर्ने रहेको छ । साथै, दुई मुलुकका जनता(जनताबीचको सम्बन्धलाई अझ सुदृढ र विस्तार गर्ने विषयमा पनि विस्तृत छलफल हुने कार्यसूची तय गरिएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार दुई मन्त्रीबीचको यस भेटवार्ताले दुई देशबीचका पारस्परिक हितका विविध विषयमा समझदारी निर्माण गर्न र सहकार्यका नयाँ आयामहरू खोज्न महत्वपूर्ण भूमिका खेल्नेछ । तीन दिने औपचारिक भेटघाट र छलफलका कार्यक्रम सम्पन्न गरी मन्त्री खनाल २४ जेठमा स्वदेश फर्किनुहुनेछ ।

















