Logo

२१ जेठ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–९ स्थित जिल्ला प्रशासन कार्यालय पर्सा नजिक रहेको गढिमाई लजमा पार्किङ गरिएको इलेक्ट्रोनिक स्कुटरको ब्याट्री पड्किँदा बिहीबार बिहान आगलागी भएको छ।

बिहीबार बिहान करिब ७ बजे भएको आगलागीबाट मधेस प्रदेश ०३–०३९ प १४४३ नम्बरको स्कुटर पूर्ण रूपमा जलेर नष्ट भएको छ भने लजभित्र रहेका विभिन्न सामानमा समेत क्षति पुगेको छ।

लज तथा स्कुटरका धनी किशन साह कानुका अनुसार पार्किङ गरिएको स्कुटरबाट एक्कासि धुवाँ निस्किन थालेपछि विस्फोटजस्तो आवाज आएको थियो। त्यसलगत्तै स्कुटरमा आगो सल्किएर आसपासका संरचना तथा सामग्रीमा फैलिएको उनले बताए।

आगलागीबाट स्कुटरसँगै लजभित्र रहेका फर्निचर, लत्ताकपडा, इन्टरनेट उपकरण, एसी, पंखा, होर्डिङ बोर्डलगायतका सामग्री जलेर नष्ट भएका छन्। क्षतिको यकिन विवरण भने सार्वजनिक गरिएको छैन।

घटनाको जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाली सेना तथा वीरगञ्ज महानगरपालिकाको दमकल घटनास्थलमा पुगेको थियो। सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

आगलागीको कारण र क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार