२१ जेठ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले महानगरभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा ‘गौरवशाली वीरगन्ज’ पुस्तक लागू गर्न सिफारिस गरेको छ।
महानगरको शैक्षिक प्रशासन महाशाखाले कक्षा ८ का विद्यार्थीका लागि सन्दर्भ सामग्रीका रूपमा ‘गौरवशाली वीरगन्ज’ पुस्तक प्रयोग गर्न विद्यालयहरूलाई सिफारिस गरेको हो।
महाशाखा प्रमुख आनन्द लामिछानेका अनुसार गत वैशाख ११ गतेको निर्णयअनुसार पत्रकारद्वय माधुरी महतो र श्याम सरार्फद्वारा लिखित उक्त पुस्तक विद्यालयहरूमा लागू गर्न सिफारिस गरिएको हो।
भोजपुरी प्रतिष्ठान र वीरगन्ज महानगरपालिकाको सहकार्यमा प्रकाशित ‘गौरवशाली वीरगन्ज’ पुस्तकमा वीरगन्जको इतिहास, पहिचान, गौरव, स्थानीय भाषा–साहित्य, विभिन्न व्यक्तित्वका जीवनी तथा लेख–रचनाहरू समेटिएको लेखिका माधुरी महतोले जानकारी दिइन्।
महानगरले स्थानीय इतिहास, संस्कृति र पहिचानबारे विद्यार्थीलाई जानकारी गराउने उद्देश्यले पुस्तकलाई सन्दर्भ सामग्रीका रूपमा प्रयोग गर्न सिफारिस गरेको जनाएको छ।

















