Logo

२१ जेठ, (माडी) चितवन । सडकमा गुडिरहेको मोटरसाइकल अन्य सवारीसाधन वा चौपायासँग ठोक्किएका दुर्घटना त हामीले धेरै सुनेका छौँ। तर, राष्ट्रिय निकुञ्जको घना जङ्गलबीच गुडिरहेको मोटरसाइकल सिधै जङ्गलको राजा बाघसँगै ठोक्कियो भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ। चितवनको माडीमा विहिवार राती ८ बजे यस्तै एउटा सातो उड्ने दुर्घटना भएको छ ।

विहिबार राती ८ बजेको समयमा माडी–ठोरी सडकखण्ड अन्तर्गत माडी नगरपालिका–९ को रातोमाटे डाँडा क्षेत्र जङ्गली जनावर र सवारीसाधनको क्रसिङ पोइन्ट बन्यो। अमुवा पोस्ट नजिकै ठोरीबाट बाट जंगलको विचबाट सम्म आफ्नो छोरालाई गाडीमा पुराएर पुन ठोरी फर्कदै गरेको बागमती प्रदेश ००२ प ६८६३ नम्बरको मोटरसाइकल अचानक जङ्गलबाट निस्किएको बाघसँग ठोक्किन पुग्यो। रफ्तारमा रहेको मोटरसाइकल सिधै बाघको जीउमा बजारिएपछि केही बेर उक्त क्षेत्रमा सन्नाटा छाएको थियो।

बाघसँगको अप्रत्याशित ठक्करपछि मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालक पर्साको ठोरी गाउँपालिका–१ निवासी ४० वर्षीय अजित कुँवर घाइते भएका छन्। उनको बायाँ पाखुरा र टाउकोमा चोट लागेको छ। प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकलसँग ठोक्किए लगतै अत्तालिएको बाघ भने जङ्गलतर्फ नै भागेको थियो।

घटनालगत्तै राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिएको नजिकैको सैन्य पोस्टका नेपाली सेना र इलाका प्रहरी कार्यालय माडीबाट खटीएको टोलीले घटनास्थल पुगेर घाइतेको उद्धार गरेको थियो।

इलाका प्रहरी कार्यालय माडीका प्रमुख, प्रहरी निरीक्षक किरण राईका अनुसार दुर्घटनाको सूचना पाउनसाथ सुरक्षाकर्मीको टोली परिचालन गरी घाइतेलाई तत्काल ठोरीस्थित चोकबजार स्वास्थ्य चौकी पुर्‍याइएको थियो। त्यहाँ उनको प्राथमिक उपचारपछि घाइते कुँवरलाई थप स्वास्थ्य परीक्षणका लागि परिवारको जिम्मा लगाएर वीरगञ्ज पठाइएको छ।

घाइतेका छोरा सागर कुँवरका अनुसार हाल अजितको अवस्था सामान्य र खतरामुक्त छ। बाघसँग ठोक्किएर मोटरसाइकल निकै पर पछारिएकाले शरीरको बाहिरी भागमा सामान्य चोट देखिए पनि भित्री अङ्गमा चोट लागेको हुन सक्ने आशङ्कामा थप एक्स(रे र परीक्षणका लागि वीरगञ्ज लगिदै छ,खछोरा सागरले भने।

निकुञ्जको जङ्गलभित्र पर्ने रातोमाटे डाँडा क्षेत्र वन्यजन्तुको ओहोरदोहोर हुने संवेदनशील क्षेत्र मानिन्छ। रातको समयमा बाघ सडकमा आउने र सवारी साधनसँगै ठोक्किने यो घटनापछि माडी–ठोरी सडकखण्डमा यात्रा गर्ने चालक तथा सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन र गति सीमित गर्न स्थानीय प्रशासनले अपिल गरेको छ।


सम्बन्धित समाचार