२२ जेठ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आगामी शनिबार, जेठ २३ गते काठमाडौं र ललितपुरका झन्डै १०० स्थानमा विद्युत् आपूर्ति बन्द हुने जनाएको छ ।
१३२ के.भी. स्युचाटार सबस्टेशनको मर्मतसम्भार तथा स्तरोन्नतिका साथै प्रसारण कण्डक्टर अपग्रेडिङ्गको कामका लागि बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुन लागेको हो ।
यस अवधिमा स्युचाटार र टेकु सबस्टेशनबाट वितरित कुलेश्वर, कीर्तिपुर, रत्नपार्क र पुल्चोक वितरण केन्द्र अन्तर्गतका ९८ भन्दा बढी स्थानमा बत्ती जानेछ। प्राधिकरणका अनुसार, कुलेश्वरका ५३, कीर्तिपुरका ११, रत्नपार्कका २० र पुल्चोकका १४ स्थानका उपभोक्ता यसबाट प्रभावित हुनेछन् ।
मर्मत कार्यका कारण उपत्यकाका अन्य क्षेत्रमा समेत भोल्टेज वा आपूर्तिमा सामान्य प्रभाव पर्न सक्ने प्राधिकरणको भनाइ छ । मौसम प्रतिकूल भएमा पूर्वसूचनाबिना नै कार्यतालिका हेरफेर हुन सक्ने जानकारी दिँदै प्राधिकरणले तोकिएको समयमै मर्मत सम्पन्न गर्न प्रयास गर्ने र यसबाट ग्राहक वर्गमा पर्न जाने असुविधाप्रति क्षमा मागेको छ ।
हेर्नुहोस् विद्युत् सेवा अवरुद्ध हुने क्षेत्रहरू (शनिबार, जेठ २३)
| वितरण केन्द्र | समय | प्रभावित क्षेत्रहरू |
| कुलेश्वर | १०:०० – १४:०० | स्वयम्भु, कलंकी, बलम्बु, नैकाप, सतुङ्गल, डल्लु, बल्खु, कुलेश्वर, टंकेश्वर, छाउनी आदि |
| कीर्तिपुर | १०:०० – १४:०० | कीर्तिपुर, मैत्रीनगर, सल्यानस्थान, चोभार, टौदह, त्रि.वि. परिसर आदि |
| रत्नपार्क | १०:०० – १४:०० | न्यूरोड, सुन्धारा, असन, इन्द्रचोक, थापाथली, माइतीघर, टेकु, कालिमाटी आदि |
| पुल्चोक | १०:०० – १४:०० | सानेपा, झम्सीखेल, पुल्चोक, नख्खु चोक, भैंसेपाटी, कुपण्डोल, हरिहर भवन आदि |

















