Logo

२२ जेठ,ठोरी । एभरेष्ट बैंक लिमिटेड ले आफ्नो वित्तीय सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत पर्साको सुवर्णपुरस्थित ज्ञानवाटिका माध्यमिक विद्यालय लाई ६ थान कम्प्युटर तथा ३ थान फुटबल सहयोग गरेको छ।

शुक्रबार विद्यालयमा आयोजित एक कार्यक्रममा बैंकका मधेश प्रदेश प्रादेशिक कार्यालय प्रमुख पुष्करराज उप्रेती ले विद्यालयका प्रधानाध्यापक बिर्जु प्रसाद चौधरी लाई उक्त सामग्री हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै उप्रेतीले ज्ञानवाटिका माविमा अध्ययनरत अधिकांश विद्यार्थी निम्न आर्थिक अवस्थाका परिवारबाट आएको उल्लेख गर्दै विपन्न विद्यार्थीलाई पनि कम्प्युटर शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले सहयोग प्रदान गरिएको बताए। उनले आगामी दिनमा पनि बैंकले विद्यालयसँग विभिन्न क्षेत्रमा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा वीरगञ्ज भन्सार एजेन्ट संघ का अध्यक्ष राजमान तामाङ, नेपाल शिक्षक महासंघ का अध्यक्ष अमृत श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए।

विद्यालय व्यवस्थापन समितिका सदस्य बिमल खडका को सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका वीरगञ्ज शाखा प्रमुख विनय उपाध्याय, आईसीपी शाखा प्रमुख सम्पूर्ण महर्जन, विद्यालय व्यवस्थापन समिति सदस्य शान्तिमाया थिङ, पूर्वविद्यार्थी प्रतिमा लामा लगायत शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

विद्यालय प्रशासनले बैंकको सहयोगले विद्यार्थीहरूको सूचना प्रविधि शिक्षामा पहुँच विस्तार हुने विश्वास व्यक्त गरेको छ।


सम्बन्धित समाचार
भर्खरै