Logo

२२ जेठ,वीरगञ्ज । बाराको जितपुरसिमरा उपमहानगरपालिका–९ छातापिप्रास्थित त्रिवेणी स्पाइनिङ धागो फ्याक्ट्रीमा विद्युत् तार सर्ट भएर अचानक आगलागी भएको छ। आगलागीका कारण ठूलो मात्रामा भौतिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

शुक्रवार बिहान करिब १०ः४० बजे विद्युत् सर्ट भई आगलागी भएको सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा विभिन्न निकायका दमकलहरू परिचालन गरिएको थियो।
इलाका प्रहरी कार्यालय जितपुरबाट प्रहरी निरीक्षक तेजनारायण वैठाको कमाण्डमा ६ जना, सिमरा इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सुरेन्द्र यादवको कमाण्डमा ४ जना तथा औद्योगिक सुरक्षा बेस जितपुरबाट सशस्त्र प्रहरी नायब निरीक्षक एकवाल यादवको कमाण्डमा ५ जनाको टोली परिचालन गरिएको थियो।

त्यसैगरी जितपुरसिमरा, कलैया, अमलेखगञ्ज, कोल्हवी, सखुवा प्रसौनी, पर्सा, निजगढ, गढीमाई लगायतका स्थानबाट करिब १२ वटा दमकल परिचालन गरी आगो नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवर, सशस्त्र प्रहरी बल नं. १२ गणका अधिकारीहरू तथा नेपाली सेनाको रिपुमर्दन गण कलैया र श्रीजंग गण पर्साका टोलीसमेत घटनास्थलमा खटिएका थिए।

करिब १२ः३० बजेको समयमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रारम्भिक विवरणअनुसार आगलागीबाट कपास, मेसिनरी तथा संरचनामा ठूलो क्षति पुगेको छ।

आगलागीबाट करिब १८० टन कपास, आरसीसी वाल भएको टिन छाएको करिब ५०/८० फिटको गोदाम, दुई थान कन्डेन्सर मेसिन, एक थान एमबीओ मेसिन तथा एक थान एमओ मेसिन जलेर नष्ट भएको विवरण प्राप्त भएको छ।

क्षतिको विस्तृत विवरण संकलन भइरहेको र घटनाको थप अनुसन्धान जारी रहेको बरा प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार
भर्खरै