२३ जेठ, चितवन । माडीको बाँदरमुढे खोलामा भएको दर्दनाक बस विस्फोटको आज २१ वर्ष पूरा भएको छ । सशस्त्र द्वन्द्वकालको सबैभन्दा विभत्स घटनामध्ये एक मानिने उक्त घटनाले दर्जनौँ परिवारलाई शोकमा डुबाएको थियो, जसको पीडा आज पनि उत्तिकै ताजा छ ।
वि.सं. २०६२ साल जेठ २३ गते माडीको बगहीँ बसपार्कबाट भरतपुरका लागि छुटेको यात्रुबाहक बस बाँदरमुढे खोलानजिक पुगेका बेला शक्तिशाली विस्फोट भएको थियो । बसभित्र र छतमा गरी करिब ११० जना यात्रु सवार रहेका थिए ।
बिहान करिब ८ बजे भएको विस्फोटमा तात्कालीन शाही नेपाली सेनाका तीन जवानसहित ३८ जनाको घटनास्थलमै ज्यान गएको थियो भने ७५ जना घाइते भएका थिए । घटनापछि घाइतेमध्ये केहीले उपचार गराइरहे पनि विस्फोटले पारेको शारीरिक, मानसिक र सामाजिक असर अझै समाप्त हुन सकेको छैन ।
घटना भएको एक वर्षपछि पीडित परिवार र घाइतेहरू संगठित भएर बाँदरमुढे घटना पीडित समिति गठन गरेका थिए । त्यसयता समितिले न्याय, राहत तथा पुनर्स्थापनाको माग गर्दै विभिन्न निकायमा आवाज उठाउँदै आएको छ । तर, पीडित पक्षले अझै पनि आफूहरूले अपेक्षा गरेअनुसार न्याय र सम्बोधन प्राप्त गर्न नसकेको बताउँदै आएका छन् ।
घटनाको करिब एक दशकपछि तत्कालीन नेकपा (माओवादी) का अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल र पीडित पक्षबीच २०७४ मंसिर १७ गते विभिन्न विषयमा सहमति भएको थियो । सहमतिअनुसार मृतकका आश्रितमध्ये काम गर्न सक्नेलाई रोजगारी, काम गर्न नसक्नेलाई जीवनवृत्ति तथा बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउने लगायतका प्रतिबद्धता जनाइएको थियो । तर ती सहमतिहरू पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको पीडित पक्षको गुनासो छ ।
बाँदरमुढे घटनाको २१औँ स्मृति दिवसका अवसरमा आज बिहान बाँदरमुढे स्मारक क्षेत्रमा सरसफाइ तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको समितिले जनाएको छ ।कार्यक्रममा घटनामा ज्यान गुमाएकाहरूको सम्झना गर्दै श्रद्धाञ्जली अर्पण गरिने तथा पीडितहरूको आवाज पुनः उठाइने बताइएको छ ।
दुई दशकभन्दा बढी समय बितिसक्दा पनि बाँदरमुढे विस्फोटको सम्झना माडीवासीका लागि केवल एउटा इतिहास नभई पीडा, क्षति र न्यायको निरन्तर खोजीको प्रतीक बनेर रहेको छ ।

















