२३ जेठ,काठमाडौं । एसीसी महिला प्रिमियर कप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र हङकङबीच प्रतिस्पर्धा भइरहेको छ।
मलेसियाको क्वालालम्पुरस्थित कोलेज टुंकु जाफर ओभलमा जारी खेलमा नेपालले टस जितेर पहिले बलिङ रोजेपछि हङकङले ब्याटिङ गरिरहेको छ।
आजको खेलको नतिजाले समूह ‘डी’ को विजेता र उपविजेताको टुंगो लगाउनेछ। दुवै टोली यसअघि लगातार दुई खेल जित्दै क्वार्टरफाइनलमा प्रवेश गरिसकेका छन्।
समूह चरणका अघिल्ला खेलमा नेपाल र हङकङले क्रमशः कतार र भुटानलाई पराजित गरेका थिए। पराजित भएका कतार र भुटान समूह चरणबाट बाहिरिसकेका छन्।
१८ राष्ट्र सहभागी प्रतियोगितामा समूह ‘ए’ र ‘बी’ मा पाँच–पाँच तथा समूह ‘सी’ र ‘डी’ मा चार–चार टोली रहेका छन्।
प्रिमियर कपको शीर्ष टोलीहरू महिला टी–२० एसिया कपका लागि छनोट हुनेछन्।

















