२३ जेठ,काठमाडौं । इरानी राष्ट्रिय फुटबल टोलीले फिफा विश्वकप २०२६ का लागि संयुक्त राज्य अमेरिकाको भिसा प्राप्त गरेको छ। अमेरिकाको विदेश मन्त्रालयले बीबीसी फारसीलाई दिएको जानकारीअनुसार टोलीका खेलाडी र सहयोगी सदस्यहरूका लागि भिसा जारी गरिएको हो।
विदेश मन्त्रालयले भनेको छ, ‘यस टोलीका खेलाडी र सहयोगीहरूका लागि भिसा जारी गरिएको छ।’ साथै उसले इरानलाई प्रणालीको दुरुपयोग गरी झुटा आवरणमा आतंककारीहरूलाई अमेरिका प्रवेश गराउने प्रयास सफल हुन नदिने बताएको छ।
यसअघि इरानी समाचार एजेन्सी तस्निमले टोलीका केही सदस्यलाई उत्तर अमेरिकामा हुने विश्वकपका लागि भिसा अस्वीकार गरिएको दाबी गरेको थियो। त्यसअनुसार टोली व्यवस्थापन र केही अधिकारीहरूलाई भिसा नदिइएको उल्लेख गरिएको थियो।
भिसा नपाउनेमा टोली प्रबन्धक मेहदी मोहम्मद नाबी, फुटबल महासंघका महासचिव हेदायत मोम्बेनी, राष्ट्रिय टोलीका कार्यकारी प्रबन्धक मेहदी खराती, मिडिया प्रबन्धक मोहसेन मोतेमादकिया, मिडिया टोली सदस्य सियामक कोलिखानी, राष्ट्रिय टोली विश्लेषक, विदेश मन्त्रालय प्रतिनिधि, सुरक्षा विभाग प्रतिनिधि तथा फुटबल महासंघको अन्तर्राष्ट्रिय समितिका प्रतिनिधि रहेका छन्।
त्यस्तै, इरानी समाचार एजेन्सी मिजानका अनुसार फुटबल महासंघका अध्यक्ष मेहदी ताजलाई पनि अमेरिकी भिसा नदिइएको जनाइएको छ।
इरानी पुरुष राष्ट्रिय फुटबल टोली शनिबार टर्कीबाट मेक्सिको प्रस्थान गर्ने तयारीमा रहेको छ। विश्वकपअन्तर्गत इरानले न्युजिल्यान्ड र बेल्जियमसँग लस एन्जलसमा तथा इजिप्टविरुद्ध सियाटलमा खेल्ने कार्यक्रम छ।

















