Logo

२४ जेठ, कलैया (बारा) । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ५ घुसुकपुरमा रहेको पन्ना देवी कन्या माध्यमिक विद्यालयको स्वामित्वमा रहेका व्यापारिक सटरहरूको भाडा असुलीमा आर्थिक अनियमितता भएको तथ्य बाहिरिएको छ ।

विद्यालय व्यवस्थापन समितिको उदासीनता र गैरजिम्मेवारीका कारण विगत पाँच वर्षदेखिको सटर भाडाबापतको झन्डै १५ लाख रुपैयाँभन्दा बढी रकम उठ्न नसकेको पाइएको हो ।

लामो समयसम्म विद्यालयको मुख्य आम्दानीको स्रोत रोकेर राख्नु र आफ्ना निकटस्थ एवं नातेदारहरूलाई विना व्यवधान सटर प्रयोग गर्न दिएर संरक्षण गरेको भन्दै तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिल मण्डलको कार्यशैली र नियतमाथि अहिले गम्भीर नैतिक तथा कानुनी प्रश्न उठेको छ ।

विद्यालयको आधिकारिक आर्थिक अभिलेखअनुसार वि.सं. २०८३ साल वैशाख मसान्तसम्मको अवधिमा मात्रै विद्यालयका कुल ११ वटा सटरहरूमध्ये ७ वटा सटरबाट १५ लाख ४० हजार २०० रुपैयाँ भाडा बक्यौता रहन गएको स्पष्ट देखिएको छ । विद्यालय सञ्चालन, शैक्षिक गुणस्तर सुधार र भौतिक पूर्वाधार विकासका लागि अत्यन्तै महत्त्वपूर्ण मानिने यो नियमित आम्दानी यति ठुलो परिमाणमा पुग्दा समेत असुलीका लागि कुनै प्रभावकारी कानुनी वा प्रशासनिक पहल नगरिएको भन्दै स्थानीय अभिभावक र सरोकारवालाहरूले तत्कालीन नेतृत्वको आलोचना गरिरहेका छन् ।

कलैयाको स्थानीय पत्रिका ‘साझेदारी राष्ट्रिय दैनिक’ ले  तथ्याङ्क र विवरणसहित प्रकाशन गरेको समाचार अनुसार सटरको भाडा नतिरी वर्षौंदेखि विद्यालयको सम्पत्तिमाथि रजाइँ गर्नेहरूमा अनुप प्रसाद यादव सबैभन्दा अगाडि छन्, जसको नाममा ४ लाख २७ हजार ५०० रुपैयाँ बक्यौता छ । यसैगरी नन्दलाल महतो धानुकबाट २ लाख ९२ हजार ५०० रुपैयाँ, नरेन्द्र प्रसाद कुशवाहाबाट २ लाख ३७ हजार रुपैयाँ, माधो प्रसाद कुशवाहाबाट २ लाख ८ हजार रुपैयाँ, सन्देश प्रसाद यादवबाट १ लाख ९२ हजार ५०० रुपैयाँ, अमरेश यादवबाट १ लाख २९ हजार रुपैयाँ तथा पवन अग्रवालबाट ५३ हजार ७०० रुपैयाँ भाडा असुल हुन बाँकी रहेको देखिएको छ ।

विद्यालय स्रोतका अनुसार तत्कालीन अध्यक्ष मण्डलको कार्यकालमा यी बक्यौतावालाहरूलाई ताकेता गर्नुको सट्टा उल्टै राजनीतिक र व्यक्तिगत संरक्षण दिइएको र बक्यौताको सूचीमा अध्यक्षका अत्यन्तै निकट व्यक्तिहरूको नाम हुनुले यो प्रकरण सामान्य लापरबाही मात्र नभई नियोजित मिलेमतो भएको आशङ्का गरिएको छ ।

विद्यालयको आन्तरिक आर्थिक स्रोत वर्षौंदेखि यसरी रोकिँदा विद्यालयको दैनिक पठनपाठन, भौतिक निर्माण तथा समग्र शैक्षिक गतिविधिमा प्रत्यक्ष र गम्भीर असर परेको स्थानीय बुद्धिजीवीहरूको भनाइ छ । समयमै भाडा असुली गरिएको भए विद्यालयले अहिले भोग्नुपरिरहेको आर्थिक अभाव र दयनीय अवस्थाको सामना गर्नुपर्ने थिएन ।

समाचार आएलगत्तै विद्यालय प्रशासनमाथि दबाब बढेपछि प्रधानाध्यापक नरेन्द्र कुमार गिरिले रकम असुलीका लागि स्थानीय वडा कार्यालय र उपमहानगरपालिकाको न्यायिक समितिलाई औपचारिक पत्राचार गर्दै कानुनी प्रक्रियामार्फत बक्यौता उठाउने गृहकार्य थालेका बुझिएको छ ।

यता, आम अभिभावक र स्थानीयबासीले भने विद्यालयको सम्पत्तिमाथि भएको यो खेलबाड र जिम्मेवारीहीनताबारे उच्चस्तरीय छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् । तत्कालीन अध्यक्ष मण्डलको कार्यकाल गत चैत महिनामै सकिए पनि विद्यालयमा हालसम्म नयाँ व्यवस्थापन समिति गठन हुन नसक्दा बक्यौता असुली र विद्यालयको प्रशासनिक नेतृत्व थप अन्योलमा परेको छ ।


सम्बन्धित समाचार