Logo

२४ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो भारतको औपचारिक भ्रमणमार्फत दुई देशबीचको बहुआयामिक साझेदारीलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भारतका विदेशमन्त्री डा. एस जयशङ्करको निमन्त्रणामा नयाँदिल्ली पुगेका मन्त्री खनालले उच्चस्तरीय भेटवार्ता गर्दै द्विपक्षीय सम्बन्धका विविध आयामहरूमा गहन छलफल गरेका छन् । दुवै पक्षले व्यापार, ऊर्जा, कनेक्टिभिटी र डिजिटल सहकार्यलाई प्राथमिकता दिँदै आपसी सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने सहमति जनाएका छन् ।

भ्रमणका क्रममा नेपाल–भारतबीचको पारस्परिक कानुनी सहायता सम्झौता (एमएलएए) कार्यान्वयनमा लैजाने प्रक्रिया पूरा भएको विषयलाई दुवै पक्षले स्वागत गरेका छन् । यसले सीमापार अपराध नियन्त्रण र न्यायिक सहयोगमा संस्थागत आधार तयार गर्नेछ ।

सोही अवसरमा, भारतको ‘युनिफाइड पेमेन्ट्स इन्टरफेस’ (युपिआई) र नेपालको ‘नेशनल पेमेन्ट्स इन्टरफेस’ (एनपीआई) बीच ‘पियर–टु–पियर’ (पीटुपी) रेमिट्यान्स आबद्धताको संयुक्त शुभारम्भ गरिएको छ, जसले दुई देशबीचको वित्तीय कारोबारलाई थप सहज बनाउने अपेक्षा गरिएको छ ।

यसका साथै, भारतको पुनःनिर्माण सहयोग कार्यक्रम अन्तर्गत ७२ वटा स्वास्थ्य संस्था र १२ वटा सांस्कृतिक सम्पदाका परियोजनाहरू मन्त्री खनाललाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ । भ्रमणका दौरान काठमाडौँ विश्वविद्यालय र डिजिटल ‘इण्डिया भाषिनी’ बीच भाषा अनुवाद प्लेटफर्मको विकासका लागि समझदारी पत्रमा हस्ताक्षर समेत भएको छ ।

नयाँदिल्लीमा रहँदा मन्त्री खनालले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र भाजपाका विदेश विभाग प्रमुख डा.विजय चौथाईवालसँग समेत छुट्टाछुट्टै भेटवार्ता गर्दै द्विपक्षीय हितका विषयमा विचार आदानप्रदान गरेका छन् ।

भारतको छिमेक पहिले’ नीतिलाई थप बल पुर्‍याउने यो भ्रमणले दुई मुलुकबीचको नियमित उच्चस्तरीय संवादको परम्परालाई निरन्तरता दिँदै आपसी विश्वासमा नयाँ ऊर्जा थपेको छ ।


सम्बन्धित समाचार