२४ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसियाली खेलकुद छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै फाइनल यात्रा पक्का गरेको छ ।
आइतबार सिंगापुरको सिंगा ओभलमा सम्पन्न सेमिफाइनल खेलमा ओमानलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो । यस जितसँगै नेपालले एसियाली खेलकुदमा आफ्नो स्थान अझ बलियो बनाएको छ ।
टस जितेर पहिले ब्याटिङ रोजेको ओमानलाई नेपाली बलरहरूले कसिलो बलिङ गर्दै १९ दशमलव ४ ओभरमा ९४ रनमै समेटेका थिए । नेपालका लागि करण केसीले ३ विकेट, तथा सोमपाल कामी र सन्दीप लामिछानेले २÷२ विकेट लिएका थिए । ओमानका लागि कप्तान सुफ्यन महमुदले ३८ रन बनाए पनि अन्य ब्याटरहरू नेपाली बलिङसामु टिक्न सकेनन् ।
९५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले मात्र ९ दशमलव २ ओभरमा २ विकेट गुमाउँदै विजय हासिल गर्यो । नेपालको जितमा लोकेश बमले आक्रामक ब्याटिङ गर्दै ७ चौका र १ छक्काको मद्दतमा नटआउट ४४ रन बनाए । त्यस्तै, रोहित पौडेलले २१ रन र ओपनर कुशल भुर्तेलले २० रनको योगदान दिए ।
नेपाल अब उपाधिका लागि आगामी सोमबार हुने हङकङ र मलेसियाबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । एसियाली खेलकुदका लागि यसअघि नै छनोट भइसकेको नेपालले प्रतियोगितामा उच्च लयलाई कायम राख्दै आफ्नो दबदबा कायम राखेको छ ।

















