Logo

२४ जेठ, काठमाडौं । नेपालको कूटनीतिक इतिहासमा पहिलोपटक खुल्ला प्रतिस्पर्धाका आधारमा राजदूत नियुक्त गर्ने सरकारको निर्णयले निकै उत्साहजनक प्रतिक्रिया पाएको छ ।

विभिन्न १३ मुलुकका लागि राजदूत माग गरिएकोमा परराष्ट्र मन्त्रालयमा झन्डै ४ हजार आवेदन दर्ता भएका छन् । मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार करिब ३ हजार जना आवेदकहरूबाट उक्त संख्यामा आवेदन परेको हो, जसमा एकै व्यक्तिले १० वटा देशसम्मका लागि आफ्नो दाबी प्रस्तुत गरेका छन् ।

परराष्ट्र मन्त्रालयले अमेरिका, चीन, भारत, बेलायत, अस्ट्रेलियासहितका १३ देशका लागि जेठ १४ गते दरखास्त आह्वान गरेको थियो । राजदूत नियुक्तिका लागि १५ बुँदे स्पष्ट मापदण्ड तय गरिएको छ, जसमा न्यूनतम स्नातक तहको शैक्षिक योग्यता, ३५ वर्ष पूरा भएको, उच्च नैतिक चरित्र र कूटनीतिक सम्बन्धसम्बन्धी भियना महासन्धिको ज्ञान हुनुपर्ने लगायतका सर्तहरू राखिएका छन् ।

साथै, विदेशी नागरिकता वा स्थायी बसोबास अनुमतिपत्र (पीआर) भएका, नैतिक पतन देखिने फौजदारी मुद्दाका दोषी र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा कार्यरत व्यक्तिहरू प्रतिस्पर्धाका लागि अयोग्य ठहरिनेछन् ।

मन्त्रालयले प्राप्त आवेदनहरूमध्येबाट रीत पुगेका दरखास्तलाई मात्र छनोट प्रक्रियामा समावेश गर्ने जनाएको छ । प्रारम्भिक सूची ९सर्टलिस्ट० तयार गरी योग्यता र उपयुक्तताका आधारमा उम्मेदवारहरूको थप छनोट गरिने परराष्ट्रले स्पष्ट पारेको छ ।

खुला आवेदनका कारण आवेदनहरूको ओइरो लागेपछि मन्त्रालयले अहिले ‘ट्रम्स अफ रिफरेन्स’ (टीओआर) का आधारमा कडा स्क्रिनिङ गर्ने तयारी गरेको छ । राजदूत पदको गरिमा र राष्ट्रिय प्रतिनिधित्वको जिम्मेवारीलाई ध्यानमा राख्दै छनोट प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाइने मन्त्रालयको दाबी छ ।


सम्बन्धित समाचार
भर्खरै