Logo

२४ जेठ, काठमाडौं । नेपालको रैथाने एवं दुर्लभ चरा काँडे भ्याकुर’ पहिलोपटक मधेस प्रदेशमा फेला परेको छ ।

नेपाल पन्छीविद् संघ र मिथिला वाइल्डलाइफ ट्रस्टको संयुक्त सर्वेक्षण टोलीले बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित चुरे वन क्षेत्रमा यो चराको सफल अभिलेख गरेको हो । मधेस प्रदेशमा काँडे भ्याकुर फेला परेसँगै अब यो दुर्लभ चरा देशका सातै प्रदेशमा बसोबास गर्ने पुष्टि भएको छ ।

पन्छीविद् हठन चौधरी र सुरज बरालको टोलीले २१ जेठका दिन दुधौरा खोला नजिकको नमुना महिला सामुदायिक वन क्षेत्रमा उक्त चरा फेला पारेका हुन् । विशेषगरी पहाडी भेगमा पाइने यो चरा समुद्री सतहबाट मात्र ४ सय ४३ मिटरको उचाइमा फेला पर्नु आफैँमा एक कीर्तिमान बनेको छ । यो हालसम्मकै सबैभन्दा कम उचाइमा गरिएको अभिलेख भएको अनुसन्धानकर्ताहरूले जनाएका छन् ।

वैज्ञानिक नाम एकान्थोप्टिला निपालेन्सिस रहेको यो चरा विश्वमा नेपालमा मात्र पाइन्छ । यसअघि कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा यसको उपस्थिति प्रमाणित भइसकेको भए पनि मधेस प्रदेशमा यसको आधिकारिक अभिलेख हुन सकेको थिएन । अहिले भइरहेको गर्मीयाम लक्षित सर्वेक्षणले मधेसको जैविक विविधता बुझ्न थप मद्दत पुर्‍याएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको अनुमतिमा भइरहेको यो खोजले नेपालको रैथाने चराको भौगोलिक फैलावट र बासस्थानका बारेमा नयाँ तथ्य स्थापित गरेको छ ।


सम्बन्धित समाचार