२४ जेठ, काठमाडौं । प्रविधि क्षेत्रका अर्बपति एलन मस्क विश्वकै पहिलो ‘खर्बपति’ (ट्रिलियन डलर सम्पत्तिको मालिक) बन्ने तयारीमा छन् ।
हाल टेस्लाका सीईओ रहेका मस्कको व्यक्तिगत सम्पत्ति २७३ अर्ब डलर रहेको छ । तर, उनको अर्को चर्चित कम्पनी ‘स्पेसएक्स’ ले आगामी साता प्रारम्भिक शेयर निष्कासन (आईपीओ) जारी गर्ने तयारी गरेसँगै मस्कको सम्पत्तिमा थप ८४१ अर्ब डलर थपिने प्रक्षेपण गरिएको छ । स्पेसएक्सको आईपीओपछि कम्पनीको कुल मूल्य १ दशमलव ७७ ट्रिलियन डलर पुग्ने अनुमान गरिएको छ, जसमा आधा हिस्सा मस्कको हुनेछ ।
मस्कको यो सम्भावित सम्पत्ति कुनै बैंकमा थुपारिएको नगद नभई शेयर बजारमा उनको कम्पनीको मूल्याङ्कन हो । यदि यो दाबी वास्तविकतामा परिणत भयो भने, मस्कको सम्पत्ति विश्वका अधिकांश देशहरूको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) भन्दा बढी हुनेछ ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को तथ्याङ्कअनुसार ताइवान, आयरल्याण्ड, स्वीडेन र सिंगापुरजस्ता देशको कुल अर्थतन्त्रभन्दा मस्कको नेटवर्थ धेरै हुने देखिएको छ । मस्कको यो अकल्पनीय आर्थिक हैसियतलाई बुझ्न केही तुलनात्मक तथ्यहरू नै पर्याप्त छन् । सन् २०२४ मा म्यानहट्टन टापुको कुल जीडीपी र ह्युस्टन सहरको सम्पूर्ण आवासीय तथा व्यावसायिक सम्पत्तिको मूल्यसमेत मस्कको अनुमानित नेटवर्थभन्दा कम रहेको छ ।
त्यति मात्र होइन, अमेरिकामा सन् २०२५ मा बिक्री भएका १ करोड ६३ लाख नयाँ कारहरूको कुल खरिद मूल्य (७८९ अर्ब डलर) पनि मस्कको सम्पत्तिभन्दा न्यून छ ।
विश्वका सर्वाधिक मूल्यवान ५० वटा खेलकुद टोलीहरूको कुल मूल्य जोड्दा पनि त्यो मस्कको सम्पत्तिको एक तिहाइ मात्रै हुन आउँछ । एक ट्रिलियन डलरको यो धनराशिको विशालता यतिसम्म छ कि, यदि कसैले हरेक घण्टा १० लाख डलर खर्च गर्ने हो भने पनि यो रकम सिध्याउन एक शताब्दीभन्दा बढी समय लाग्नेछ । आधुनिक व्यावसायिक इतिहासमै मस्कको यो आर्थिक उदयलाई एक दुर्लभ र ऐतिहासिक घटनाका रूपमा हेरिएको छ ।

















