Logo

२४ जेठ, काठमाडौं । नेपाली शेयर बजारका लगानीकर्ताहरूका लागि अब नयाँ व्यवस्था कार्यान्वयनमा आउने भएको छ ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससी) ले आगामी २०८३ असार १ गतेदेखि डिम्याट (हितग्राही) खाता खोल्न तथा पुराना खाताहरूको विवरण अद्यावधिक (अपडेट) गर्दा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेको छ ।

सिडिएससीले देशैभरिका सम्पूर्ण निक्षेप सदस्यहरू (डीपी) लाई पत्राचार गर्दै यो व्यवस्थालाई कडाइका साथ लागू गर्न निर्देशन दिएको हो। संस्थाको गत जेठ १३ गतेको निर्णयअनुसार यो प्रावधान अघि बढाइएको हो ।

यसअघि नै सिडिएससीले फागुन १९ गतेको पत्राचारमार्फत निक्षेप सदस्यहरूलाई आफ्नो ‘ब्याक अफिस’ प्रणालीमा राष्ट्रिय परिचयपत्र नम्बर समावेश गर्न मिल्ने गरी प्राविधिक तयारी गर्न निर्देशन दिइसकेको थियो । सोही तयारी र आवश्यक पूर्वाधार निर्माणपछि अब यसलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउन लागिएको हो ।

सिडिएससीका वरिष्ठ आइटी अधिकृत किशोर प्रसाद भट्टद्वारा जारी सूचनामा नयाँ खाता खोल्नेदेखि पुराना विवरण अद्यावधिक गर्नेसम्मका प्रक्रियामा राष्ट्रिय परिचयपत्र नम्बरलाई अनिवार्य गरिएको उल्लेख छ। उक्त निर्णयको जानकारी नियमनकारी निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई समेत दिइएको छ ।

यो व्यवस्थासँगै अब शेयर कारोबार गर्न चाहने लगानीकर्ताहरूले अनिवार्य रूपमा आफ्नो राष्ट्रिय परिचयपत्र नम्बरलाई डिम्याट खातासँग आबद्ध गराउनुपर्नेछ ।


सम्बन्धित समाचार