Logo

२५ जेठ,वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको प्रथम जिल्ला अधिवेशन आज बिहानदेखि पुनः सञ्चालन हुने भएको छ। प्रतिनिधि नामावली र निर्वाचन प्रक्रियालाई लिएर उत्पन्न विवाद तथा झडपका कारण शनिबार स्थगित भएको अधिवेशन पार्टीका केन्द्रीय प्रतिनिधिको उपस्थितिमा भएको सहमतिपछि पुनः सुरु हुन लागेको हो।

जिल्ला सभापति हरि पन्तका अनुसार बिहान ८ बजेदेखि खुला तथा बन्द सत्र सञ्चालन गरी नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाइनेछ। अधिवेशनको समयतालिका समेत सार्वजनिक गरिसकिएको उनले जानकारी दिए।

शनिबार वीरगञ्ज–९ स्थित होटल गेटवेमा प्रतिनिधि छनोट प्रक्रिया चलिरहेका बेला दुई समूहबीच विवाद चर्किएको थियो। प्रतिनिधि मनोनयन तथा विभाग गठन प्रक्रियामा असन्तुष्टि जनाउँदै एक पक्षले निर्वाचन समितिमा ज्ञापनपत्र बुझाउँदै विभाग गठनको माइन्युट, निर्णय विवरण तथा प्रतिनिधि चयनको आधार सार्वजनिक गर्न माग गरेको थियो।

निर्वाचन प्रक्रिया केही समय स्थगित गरी पुनः सञ्चालन गरिए पनि विवाद झडपमा परिणत भएको थियो। झडपमा महादेवप्रसाद कुर्मी, वीरेन्द्र साह र रन्दिप श्रीवास्तव घाइते भएका थिए। उनीहरूको नारायणी अस्पतालमा उपचार गरिएको थियो। घटनामा संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो भने स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्जसमेत गरेको थियो।

रास्वपा पर्सामा हाल दुई समूहबीच नेतृत्वको प्रतिस्पर्धा देखिएको छ। एक पक्षको नेतृत्व जिल्ला सभापति तथा पर्सा–१ का सांसद हरि पन्तले गरिरहेका छन् भने अर्को पक्षमा पर्सा–२ का सांसद सुशील साह कानु, रमाकान्त चौरसिया र टेकबहादुर शाक्यसहितका नेताहरू सक्रिय छन्।

जिल्ला सभापति पदका लागि हरि पन्त र सुशील कुमार कानुले आ–आफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गरिसकेका छन्। कानु पक्षबाट रन्दिप श्रीवास्तव उपसभापति, शिवकुमार साह सचिव तथा नीरज साह सह–सचिव पदमा प्रतिस्पर्धामा छन्। पन्त पक्षबाट दिलीप कुर्मी उपसभापति, सुदेश कुमार प्रजापति सचिव तथा कृष्ण पासवान सह–सचिव पदका उम्मेदवार रहेका छन्।

यसैबीच रास्वपा पर्साको वीरगञ्ज महानगर समितिले अधिवेशनपछिको पुनर्गठन प्रक्रिया सम्पन्न नहुन्जेल मातहतका सम्पूर्ण विभाग तथा उपसमितिहरू विघटन गरिएको जनाएको छ।

अधिवेशन पुनः सञ्चालन भएसँगै पर्सा जिल्लामा रास्वपाको नयाँ नेतृत्व चयन प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार
भर्खरै