२५ जेठ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सोमबार सिंहदरबारमा सुरु भएको छ।
संसद् सचिवालयस्थित सार्वजनिक लेखा समितिको हलमा जारी बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष तथा वरिष्ठ नेताहरू सहभागी भएका छन्। बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन तथा नेकपा (एमाले)का प्रमुख सचेतक ऐनबहादुर महरलगायत नेताहरूको उपस्थिति रहेको छ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, राष्ट्रिय चासोका विषय तथा संसद् र राजनीतिक दलहरूबीच समन्वय आवश्यक रहेका मुद्दामाथि छलफल हुने जनाइएको छ।
रास्वपाका सभापति लामिछानेको पहलमा आयोजित बैठकलाई पछिल्लो राजनीतिक परिस्थिति र राष्ट्रिय सरोकारका विषयमा साझा धारणा निर्माण गर्ने प्रयासका रूपमा हेरिएको छ। बैठकका निष्कर्षबारे छलफल सम्पन्न भएपछि थप जानकारी सार्वजनिक गरिने अपेक्षा गरिएको छ।

















