Logo

२५ जेठ, काठमाडौं । नेकपा एमालेलाई थप सुदृढ, शुद्ध र रूपान्तरित बनाउने उद्देश्यका साथ गठित ‘पार्टी पुनर्गठन कार्यदल’ ले अन्ततः आफ्नो कार्य प्रारम्भ गर्ने भएको छ ।

पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा रहेको १५ सदस्यीय कार्यदलको पहिलो बैठक मङ्गलबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा बस्ने तय भएको छ ।

गत जेठ १० गते सम्पन्न सचिवालयको आठौँ बैठकले एमालेको समग्र पुनर्गठन र शुद्धीकरणका लागि ठोस कार्ययोजना तयार गर्न यो कार्यदल गठन गरेको थियो । कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको भए पनि गठन भएको १५ दिनपछि बल्ल बैठक बस्न लागेको हो । बैठकमा कार्यदलको कार्यविधि निर्माण र आगामी कार्ययोजनाका विषयमा विस्तृत छलफल हुने कार्यदलका सदस्य तथा पार्टी सचिव छविलाल विश्वकर्माले जानकारी दिए ।

उपाध्यक्ष थापाको नेतृत्वमा गठित यो कार्यदलमा पार्टीका शीर्ष नेताहरू विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, महासचिव शङ्कर पोखरेल, उपमहासचिव लेखराज भट्ट तथा सचिवहरू पद्मा अर्याल र भानुभक्त ढकालसहित सातै प्रदेशका अध्यक्षहरू सदस्य रहेका छन् ।

कार्यदलले निर्वाचनको समीक्षा गर्दै पार्टीलाई थप गतिशीलता प्रदान गर्न आवश्यक पर्ने सुधारका उपायहरूसहितको विस्तृत प्रतिवेदन तयार पार्ने जिम्मेवारी पाएको छ ।


सम्बन्धित समाचार
भर्खरै