२५ जेठ,काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेसबाट प्राप्त जनमतको आधारमा सरकार गठन हुने गरे पनि मधेसी समुदायका अधिकार सुनिश्चित गर्न राज्य उदासीन रहेको बताएका छन्।
सोमबार काठमाडौंको माइतीघर मण्डलमा जनमत पार्टीद्वारा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै उनले विभिन्न राजनीतिक परिवर्तन र शासन व्यवस्थाको अभ्यास भए पनि मधेसका मागहरू अझै सम्बोधन हुन नसकेको टिप्पणी गरे। मधेसबाट मत लिएर सरकार गठन गर्ने तर मधेसी समुदायका अधिकारका सवालमा गम्भीर पहल नगर्ने प्रवृत्ति निरन्तर देखिएको उनको भनाइ थियो।
अध्यक्ष राउतले राणा शासनकालदेखि नै मधेसमाथि विभेदपूर्ण व्यवहार भएको दाबी गर्दै पछिल्ला दशकहरूमा सत्ता सञ्चालन गरेका प्रमुख राजनीतिक दलहरू पनि मधेसी जनताको अपेक्षा पूरा गर्न असफल भएको आरोप लगाए। नागरिकता, सुकुम्बासी व्यवस्थापन, स्वायत्तता तथा अन्य अधिकारसम्बन्धी मुद्दाहरू अझै समाधान हुन नसकेको उनले बताए।
उनले राजनीतिक परिवर्तनपछि पनि मधेसी समुदायले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको उल्लेख गर्दै विभिन्न आन्दोलन र संघर्षका क्रममा मधेसका मुद्दा ओझेलमा परेको दाबी गरे। मधेसका नागरिकले राज्यबाट समान अधिकार र अवसर प्राप्त गर्न नसकेको उनको भनाइ थियो।
राउतले मधेसको राजनीतिक, सामाजिक तथा संवैधानिक अधिकार सुनिश्चित नभएसम्म विभेद र असमानताको अवस्था अन्त्य नहुने बताए। उनले वर्तमान सरकारलाई मधेसका जायज मागहरू सम्बोधन गर्न आग्रह गर्दै सो सम्बन्धमा जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइने जानकारी दिए।
जनमत पार्टीले मधेसका अधिकार, पहिचान र समावेशी शासन व्यवस्थाको माग गर्दै आन्दोलनलाई निरन्तरता दिने जनाएको छ।

















