Logo

 २५ जेठ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम जिल्ला अधिवेशनबाट चयन भएका अधिकांश नयाँ नेतृत्वमा संस्थापन पक्षको वर्चस्व देखिएको छ। शनिबार र आइतबार सम्पन्न ५० भन्दा बढी जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमितिहरूमा सभापति रवि लामिछानेनिकट नेताहरूको बहुमत देखिएको हो।

पार्टीभित्र बालेन्द्र शाह समूह र विवेकशील साझा पृष्ठभूमिबाट आएका नेताहरूको उपस्थिति रहे पनि जिल्ला तहको निर्वाचनमा उनीहरूको प्रभाव अपेक्षाकृत कमजोर देखिएको नेताहरूको भनाइ छ। केही जिल्लामा ‘रवि समूह’ र ‘बालेन समूह’ का रूपमा प्रतिस्पर्धाको चर्चा भए पनि अधिकांश स्थानमा संस्थापन पक्षका उम्मेदवार विजयी भएका छन्।

अधिवेशनमा खटिएका एक नेताका अनुसार केही जिल्लामा उम्मेदवारहरूले आफूलाई बालेन टिम वा संस्थापन पक्षको भनेर प्रचार गरे पनि अन्ततः कार्यकर्ताले संस्थापन पक्षका उम्मेदवारलाई नै रोजेका छन्।

झापा, नुवाकोट, रसुवा, काभ्रे, सुनसरी, मोरङलगायत जिल्लामा पार्टी स्थापनाकालदेखि सक्रिय रहेका तथा तदर्थ समितिमा कार्यरत नेताहरू पुनः नेतृत्वमा चयन भएका छन्। झापामा केन्द्रीय संगठन विभाग सदस्य ओमनाथ भण्डारी जिल्ला सभापतिमा निर्वाचित भएका छन् भने धादिङमा बागमती प्रदेश सदस्य राजन अर्याल जिल्ला सभापति बनेका छन्।

रास्वपाका संगठन विभाग उपप्रमुख बोधनारायण श्रेष्ठका अनुसार डोल्पा, हुम्ला, मनाङ र मुस्ताङ बाहेक सबै जिल्लाको अधिवेशन जेठ २६ गतेभित्र सम्पन्न गरिनेछ। उनले निर्वाचन भएका स्थानमा कार्यकर्ताले आफ्नो रोजाइका आधारमा नेतृत्व चयन गरेको बताए।

पार्टीले जिल्ला अधिवेशनमा प्रतिस्पर्धा गर्न छुट दिए पनि गुटगत प्यानल बनाएर चुनाव लड्न नदिने नीति अवलम्बन गरेको थियो। जिल्ला–जिल्लामा ‘बालेन समूह’ र ‘रवि समूह’को चर्चा हुन थालेपछि केन्द्रले गुटगत प्रचार नगर्न निर्देशनसमेत दिएको थियो।

रास्वपाका नेताहरूका अनुसार सहमति हुन नसकेका स्थानमा मात्रै निर्वाचन गरिएको हो। निर्वाचन भएका जिल्लाहरूमा कार्यकर्ताको मतबाट नेतृत्व चयन भएकाले परिणामलाई लोकतान्त्रिक अभ्यासका रूपमा लिनुपर्ने उनीहरूको भनाइ छ।

पछिल्लो समय विभिन्न दलबाट रास्वपामा प्रवेश गर्नेहरूको संख्या बढ्दै गएको छ। त्यसैबीच जिल्ला अधिवेशनबाट नयाँ पुस्ताका नेतृत्व उदाएका छन्। पार्टीभित्र परम्परागत राजनीतिक शैलीभन्दा फरक नेतृत्वको खोजी भइरहेको संकेत जिल्ला अधिवेशनले दिएको नेताहरूको विश्लेषण छ।

रास्वपाले असार ७ देखि ९ गतेसम्म एकताको प्रथम महाधिवेशन आयोजना गर्दैछ। महाधिवेशनमा करिब तीन हजार प्रतिनिधि सहभागी हुनेछन्। सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह तथा उपसभापति स्वर्णिम वाग्ले पुनः नेतृत्वमा दोहोरिने समझदारी बनिसकेको स्रोतको दाबी छ।

पार्टीका नेताहरूका अनुसार जिल्ला अधिवेशनको नतिजाले कार्यकर्ताबीच रवि लामिछानेप्रतिको विश्वास अझै बलियो रहेको संकेत गरेको छ। साथै, आगामी महाधिवेशनबाट पनि संस्थापन पक्षकै प्रभाव कायम रहने अनुमान गरिएको छ।


सम्बन्धित समाचार