Logo

२५ जेठ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा अवैध रूपमा विदेश पठाउने ‘काउन्टर सेटिङ’ मा संलग्न रहेको आरोपमा नेपाल वायुसेवा निगमका दुई जना करार कर्मचारी पक्राउ परेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले निगमको ग्राउण्ड ह्याण्डेलिङ शाखामा कार्यरत प्रबिन लामिछाने र सुमित्रा चन्दलाई आइतबार नियन्त्रणमा लिएको हो । विमानस्थलमा कार्यरत कर्मचारीहरूबाटै सेटिङ हुने गरेको सुइँको पाएपछि अध्यागमन विभाग र विमानस्थल सुरक्षा कार्यालयले अनुसन्धानका लागि प्रहरीलाई पत्राचार गरेका थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार पक्राउ परेका कर्मचारीहरूले एक भारतीय नागरिकलाई नियमविपरीत दुबई उडाउन दोहोरो बोर्डिङ पासको सहारा लिएका थिए । नेपालको बाटो हुँदै तेस्रो मुलुक यात्रा गर्ने भारतीय नागरिकका लागि अनिवार्य गरिएको ‘नो अब्जेक्सन सर्टिफिकेट’ ९एनओसी० ती यात्रुसँग थिएन ।

एनओसी नभएका यात्रुलाई प्रस्थान अनुमति दिन नमिल्ने भएपछि कर्मचारीहरूले सुरुमा इन्डिगो एयरलाइन्सको भारत जाने बोर्डिङ पास दिलाएर सुरक्षा जाँच पार गराएका थिए। सुरक्षा जाँच सकिएलगत्तै ती यात्रुलाई फ्लाई दुबईको बोर्डिङ पास दिएर दुबईतर्फ प्रस्थान गराइएको पाइएको छ ।

गत जेठ ३ गते ती भारतीय नागरिक दुबई उडेको अध्यागमनको रेकर्डमा देखिएको छ । विमानस्थलको सीसीटीभी फुटेजमा सुरक्षा जाँच पार गरेपछि आरोपी सुमित्रा चन्दले ती भारतीय नागरिकबाट इन्डिगो एयरलाइन्सको बोर्डिङ पास फिर्ता लिएको दृश्य कैद भएको अध्यागमन स्रोतले जनाएको छ ।

अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ ।


सम्बन्धित समाचार
भर्खरै