२५ जेठ, काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईको विश्वकप यात्रामाथि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पूर्णविराम लगाइदिएको छ ।
फिफा विश्वकप २०२६ मा सहभागी हुन मेक्सिको जाने तयारीमा रहेका एन्फाका यी दुई शीर्ष पदाधिकारीले विदेश जानका लागि राखेपबाट अनुमति प्राप्त गर्न सकेनन् । आज राति नै उड्ने योजनासहित अनुमति माग्न पुगेका उनीहरूलाई राखेपले सोझै अस्वीकार गरिदिएपछि उनीहरूको विश्वकप सहभागिता अनिश्चित बनेको छ ।
उनीहरूले यसअघि अध्यागमन विभाग पुगेर यात्रा अनुमति मागेका थिए, तर विभागले राखेपको सिफारिस अनिवार्य भन्दै फर्काइदिएपछि उनीहरू राखेप धाएका थिए । यद्यपि, राखेपका सदस्य सचिव रामचरित्र मेहताले एन्फा पदाधिकारीहरूलाई तत्काल विदेश जान दिने गरी कुनै पनि सिफारिस दिन अस्वीकार गरेका छन् ।
अहिले एन्फाको आर्थिक अनियमिततासम्बन्धी विषयमा छानबिन भइरहेकाले राखेपको सिफारिसमा अध्यागमन विभागले गत वैशाखदेखि नै एन्फाका सबै पदाधिकारीको विदेश भ्रमणमा रोक लगाएको थियो ।
छानबिन प्रक्रिया जारी रहेकाले उनीहरूलाई विदेश जान दिँदा अनुसन्धान प्रभावित हुन सक्ने र उनीहरू नफर्किन सक्ने जोखिमलाई मध्यनजर गर्दै परिषद्ले यस्तो कडा अडान लिएको बुझिएको छ । फुटबलको सर्वोच्च निकायका पदाधिकारीहरूमाथि नै लागेको यस्तो यात्रा प्रतिबन्ध र छानबिनको विषयले नेपाली खेलकुद वृत्तमा तरंग पैदा गरेको छ ।
एकातिर विश्वकपको रौनक छ भने अर्कोतिर एन्फा नेतृत्वमाथि लागेको आर्थिक आरोप र त्यसले निम्त्याएको प्रशासनिक जटिलताले नेपाली फुटबलको साखमाथि गम्भीर प्रश्न खडा गरेको छ ।

















