२५ जेठ,काठमाडौं । नेपालले हङकङलाई पराजित गर्दै एशियाली खेलकुद क्रिकेट छनोट प्रतियोगिताको उपाधि जितेको छ।
आइतबार सिङ्गापुरमा सम्पन्न फाइनल खेलमा नेपालले हङकङलाई डीएलएस (डकवर्थ–लुइस–स्टर्न) नियमका आधारमा १९ रनले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो।
१८९ रनको लक्ष्य पछ्याएको नेपालले ११ ओभर ३ बलमा २ विकेट गुमाएर ११४ रन बनाएको अवस्थामा वर्षाका कारण खेल प्रभावित भएको थियो। त्यसपछि डीएलएस नियमअनुसार नेपाल विजयी घोषित भयो।
नेपालका लागि कुशल भुर्तेलले उत्कृष्ट ब्याटिङ गर्दै ६५ रन बनाए भने कप्तान रोहित पौडेल ३५ रनमा अविजित रहे। हङकङका आयुष शुक्ला र एहसान खानले समान एक–एक विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८८ रनको चुनौतीपूर्ण योगफल बनाएको थियो। हङकङका अंशुमन रथले ८० तथा शाहिद वासिफले ५५ रनको योगदान दिए।
नेपालका बलर शेर मल्लले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट हात पारे।
यस्तै तेस्रो स्थानका लागि भएको खेलमा मलेशियाले ओमानलाई ८ विकेटले पराजित गर्दै प्रतियोगितामा तेस्रो स्थान हासिल गर्यो।
यस प्रतियोगितामार्फत नेपाल, हङकङ, मलेशिया र ओमान आगामी एशियाली खेलकुदका लागि छनोट भएका छन्।

















