Logo

२७ जेठ, काठमाडौँ । मानब बेचबिखन तथा ओसारपसारको गम्भीर अभियोगमा स्याङ्जाको पुतलीबजार नगरपालिका–४ का वडाध्यक्ष शिवबहादुर थापा पुर्पक्षका लागि जेल चलान भएका छन् ।

नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष थापालाई काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले गत जेठ २५ गते थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।

तेञ्जी शेर्पाले दिएको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको यस मुद्दामा वडाध्यक्ष थापामाथि गम्भीर अपराधको आरोप लागेको छ । पीडित शेर्पालाई अमेरिका पठाइदिने प्रलोभन देखाएर ठूलो रकम असुलेका थापाले उनलाई विभिन्न मुलुक घुमाउँदै अन्ततः विदेशमै अलपत्र पारेर आफू भने स्वदेश फर्किएका थिए। पीडितको जाहेरीपश्चात् नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले उनलाई वैशाख महिनाको अन्त्यतिर काठमाडौँबाट पक्राउ गरेको थियो ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा विजयी भएपछि करिब १५ महिना वडाध्यक्षको जिम्मेवारी सम्हालेका थापा २०८० भदौ १५ गतेदेखि स्वास्थ्य उपचारको बहाना बनाउँदै वडा सदस्य लीलावती पौडेललाई कार्यवाहकको जिम्मेवारी सुम्पिएर काठमाडौँ केन्द्रित भएका थिए ।

वडाको काम छाडेर काठमाडौँमा सक्रिय रहेका थापाले अमेरिका पठाउने नाममा ठगीधन्दा चलाउँदै आएको अनुसन्धानबाट खुलेको छ । जनप्रतिनिधि जस्तो गरिमामय पदमा बसेरै मानव बेचबिखन जस्तो जघन्य अपराधमा संलग्न भएको पुष्टि भएपछि अहिले उनी हिरासतमा पुगेका छन् ।


सम्बन्धित समाचार
भर्खरै