२९ जेठ,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सचेतक खुस्बु ओली ले परराष्ट्रमन्त्री शिशिर खनाल को भारत भ्रमणका क्रममा सीमा विवादको विषयलाई प्राथमिकता नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै ओलीले नेपाल–भारत सीमा विवादजस्तो संवेदनशील विषय नेपाली पक्षले जारी गरेको प्रेस विज्ञप्तिबाट नै गायब भएको टिप्पणी गरिन्।
उनले भारतको राजधानी नई दिल्ली मा भएका औपचारिक भेटवार्ताका क्रममा परराष्ट्रमन्त्रीले कतै पनि सीमा विवादको विषय नउठाएको दाबी गरिन्। “काठमाडौंबाट दिल्ली जाँदा पछि बोल्छु भन्नुभएको थियो, तर औपचारिक वार्तामा कतै पनि सीमाको विषय उठाउनुभएन,” उनले भनिन्।
ओलीका अनुसार भ्रमणपछि नेपाली पक्षले जारी गरेको प्रेस विज्ञप्तिमा सीमा विवादबारे कुनै उल्लेख छैन। उनले सीमा समस्या र सीमा व्यवस्थापन फरक विषय भएको उल्लेख गर्दै सरकारले विवादको विषयलाई बेवास्ता गरेर केवल सीमा व्यवस्थापनका प्राविधिक पक्षमा मात्र केन्द्रित भएको आरोप लगाइन्।
“संसदमा पनि सीमा विवादको विषय नउठाएर सीमा व्यवस्थापन, जंगेपिलर व्यवस्थापन र नियमित बैठकको कुरा मात्रै उठाइएको छ। सीमा व्यवस्थापन र सीमा विवाद फरक कुरा हुन्,” ओलीले भनिन्।
उनले विगत चार वर्षदेखि नेपालले जारी गर्ने प्रेस नोटमा सीमा सम्बन्धी विषय कुनै न कुनै रूपमा समेटिने गरेको स्मरण गराउँदै यसपटक पहिलोपटक उक्त विषय हटाइएको दाबी गरिन्।
ओलीले परराष्ट्रमन्त्रीको आगामी चीन भ्रमणको सन्दर्भ उल्लेख गर्दै नेपालको भूमि रहेको लिपुलेक र कालापानीका विषयमा स्पष्ट र सशक्त रूपमा नेपालको धारणा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न आग्रह समेत गरिन्।
















