२९ जेठ,काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को रोमाञ्चक प्रतिस्पर्धामा दक्षिण कोरियाले चेक गणतन्त्रमाथि २–१ को पुनरागमन जित दर्ता गरेको छ। मेक्सिकोको ग्वाडालाजारास्थित एक्रोन रङ्गशालामा शुक्रबार सम्पन्न खेलमा एक गोलले पछि परेको अवस्था उल्टाउँदै दक्षिण कोरियाले महत्वपूर्ण तीन अंक हात पारेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेल दोस्रो हाफमा भने निकै रोमाञ्चक बनेको थियो। ४४ हजार ९ सय ८५ दर्शकको उपस्थितिमा भएको खेलमा दुवै टोलीले आक्रामक प्रदर्शन गरेका थिए।
दोस्रो हाफको सुरुवातमै चेक गणतन्त्रले अग्रता बनाएको थियो। लाडिसलाभ क्रेइचीले उत्कृष्ट हेडमार्फत गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए।
तर चेकियाको अग्रता लामो समय टिक्न सकेन। दक्षिण कोरियाका स्टार फरवार्ड ह्वाङ ही–चानले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। त्यसपछि दुवै टोलीले जितका लागि लगातार अवसर सिर्जना गरेका थिए।
खेलको अन्त्यतिर ओ ह्युन–ग्युले स्लाइड गर्दै आकर्षक गोल गरेपछि दक्षिण कोरिया २–१ ले अगाडि बढ्यो। उनको गोल नै खेलको निर्णायक गोल बन्न पुग्यो।
बाँकी समयमा चेक गणतन्त्रले बराबरी गोलको प्रयास गरे पनि दक्षिण कोरियाली रक्षापङ्क्तिले त्यसलाई सफल हुन दिएन।
यो जितसँगै दक्षिण कोरियाले समूह ‘ए’ मा विजयी सुरुआत गर्दै महत्वपूर्ण तीन अंक जोडेको छ।
















