Logo

३० जेठ,वीरगञ्ज । सखुवा प्रसौनी गाउँपालिका र भारतीय दूतावासको संयुक्त आयोजनामा औराहा–पंचगवाँ फिल्डमा अन्तर्राष्ट्रिय योग दिवस–२०२६ भव्य रूपमा सम्पन्न भएको छ। विश्वभर प्रत्येक वर्ष जुन २१ मा मनाइने अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजित कार्यक्रममा योग अभ्यास, स्वास्थ्य सचेतना तथा योगको महत्वबारे विशेष चर्चा गरिएको थियो।

गाउँपालिका अध्यक्ष यशवन्त यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेश सरकारका वन तथा वातावरण मन्त्री शंकर चौधरी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले योगले शारीरिक तथा मानसिक स्वास्थ्य सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै दैनिक जीवनमा योगलाई अपनाउन सबैलाई आग्रह गरे। उनले स्वस्थ समाज निर्माणका लागि योग संस्कृतिको प्रवर्द्धन आवश्यक रहेको उल्लेख गरे।

गाउँपालिका अध्यक्ष यादवले स्थानीय तहले स्वास्थ्य, शिक्षा र जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिँदै आएको बताउँदै योग दिवसको आयोजना पनि सोही अभियानको एक हिस्सा भएको बताए।

कार्यक्रममा जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, शिक्षक, विद्यार्थी, सुरक्षाकर्मी तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले सामूहिक योग अभ्यास गर्दै स्वस्थ जीवनशैली अपनाउने प्रतिबद्धता व्यक्त गरेका थिए


सम्बन्धित समाचार