३० जेठ,वीरगञ्ज । सर्लाहीमा जग्गा विवादका क्रममा भएको कुटपिटबाट गम्भीर घाइते एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ।
जिल्लाको गोडैता नगरपालिका–९ निवासी ७० वर्षीय अहमिद मन्सुरको उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
प्रहरीका अनुसार गत जेठ २२ गते छिमेकी श्रीचन महतोसँग जग्गासम्बन्धी विवाद हुँदा श्रीचनका छोरा सुशील महतो, रमजान मन्सुर लगायतले अहमिद मन्सुरमाथि निर्घात कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएका मन्सुरलाई उपचारका लागि मलंगवास्थित म्याक्स अस्पतालमा भर्ना गरिएको थियो।
उपचारकै क्रममा शनिबार बिहान करिब ७ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्नमध्ये रमजान मन्सुरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। फरार रहेका श्रीचन महतो र सुशील महतोको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।
















