Logo

३० जेठ,चितवन । चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा निर्माणाधीन १५ शय्याको पालिका स्तरीय आधारभूत अस्पताल चालु आर्थिक वर्षभित्रै सञ्चालनमा ल्याउने तयारी गरिएको छ। अस्पताल भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको गाउँपालिकाले जनाएको छ।

आर्थिक वर्ष २०७९/८० बाट निर्माण सुरु गरिएको अस्पताल भवनको लागत करिब १३ करोड रुपैयाँ रहेको छ। प्रारम्भिक चरणमा जग्गासम्बन्धी विवादका कारण निर्माणमा केही ढिलाइ भए पनि विवाद समाधानपछि कामले तीव्रता पाएको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताए।

सन्तोषी जेभी, नुवाकोटले निर्माण गरिरहेको भवनको प्रारम्भिक लागत अनुमान १९ करोड रुपैयाँ रहेको थियो। ठेकेदार कम्पनीले हालसम्म करिब १० करोड ५० लाख रुपैयाँ भुक्तानी लिइसकेको छ। भवन निर्माणसँगै आवश्यक स्वास्थ्य उपकरण जडान र सञ्चालन तयारीको काम पनि सुरु गरिएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतका अनुसार अस्पतालमा ओपीडी, माइनर ओटी, आँखा तथा दाँत उपचार सेवा, फिजियोथेरापी, प्रयोगशाला, फार्मेसी, एक्स–रे, भिडियो एक्स–रे लगायतका सेवा उपलब्ध गराइनेछ। अस्पतालमा एक जना कन्सल्टेन्ट मेडिकल सुपरिटेन्डेन्ट, चार जना मेडिकल अफिसरसहित करिब ४० जना स्वास्थ्यकर्मी रहने व्यवस्था गरिनेछ।

नयाँ अस्पताल सञ्चालनमा आएपछि इच्छाकामना गाउँपालिकाका बासिन्दासँगै तनहुँ, गोरखा र धादिङ जिल्लाका सेवाग्राहीले पनि गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ। हाल सञ्चालनमा रहेको नगर अस्पतालमा दैनिक १५० देखि २०० जनासम्म बिरामी उपचारका लागि आउने गरेका छन्।

हाल १० प्रकारका सेवा प्रदान गर्दै आएको अस्पतालले नयाँ भवनबाट थप सात नयाँ सेवा विस्तार गर्ने योजना बनाएको छ। गाउँपालिका अध्यक्ष गुरुङले अस्पताललाई भविष्यमा ट्रमा सेन्टरका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याउँदै पृथ्वी राजमार्गसँग जोडिएको स्थानमा रहेकाले सडक दुर्घटनाका घाइतेहरूको उपचारमा अस्पताल महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरे।


सम्बन्धित समाचार