Logo

३० जेठ,वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा पछिल्लो समय बिरामीको चाप उल्लेखनीय रूपमा बढेसँगै स्वास्थ्य सेवा व्यवस्थापनमा चुनौती थपिएको छ। सीमित पूर्वाधार र जनशक्तिका बीच लामो समयदेखि सेवा दिँदै आएको अस्पतालमा बिरामीको संख्या तीव्र रूपमा बढेपछि आपत्कालीनदेखि सामान्य वार्डसम्म अतिरिक्त दबाब परेको छ।

अस्पताल स्रोतका अनुसार निजी अस्पतालहरूमा ओपीडीबाहेकका स्वास्थ्य बीमा सेवा बन्द भएपछि धेरै बिरामी सरकारी अस्पतालतर्फ आकर्षित भएका छन्। साथै, बढ्दो गर्मीका कारण विभिन्न स्वास्थ्य समस्या लिएर आउने बिरामीको संख्या पनि उल्लेखनीय रूपमा वृद्धि भएको छ।

अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहका अनुसार उपलब्ध सीमित स्रोतसाधनका बाबजुद चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले निरन्तर सेवा दिइरहेका छन्। तर पर्याप्त पूर्वाधार र जनशक्तिको अभावका कारण स्वास्थ्यकर्मीहरू अत्यधिक दबाबमा काम गर्न बाध्य भएको उनले बताए।

उनका अनुसार बढ्दो बिरामी चापले सेवा प्रवाह, व्यवस्थापन र उपचार प्रणालीमा थप जटिलता सिर्जना गरेको छ। यस्तो अवस्थामा स्वास्थ्यकर्मीको मनोबल उच्च राख्नुपर्ने भए पनि केही सञ्चारमाध्यम र जनप्रतिनिधिबाट आलोचनात्मक वातावरण सिर्जना भएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।

हाल अस्पतालको आपत्कालीन कक्षमा अत्यधिक चापका कारण बिरामी व्यवस्थापन कठिन बनेको छ। शय्या अभावका कारण केही बिरामीलाई भुइँमै राखेर उपचार गर्नुपर्ने अवस्था समेत आएको अस्पताल स्रोतले जनाएको छ। अन्य वार्डहरूमा पनि शय्या अभाव देखिन थालेपछि सेवा प्रवाह थप प्रभावित भएको छ।

यसैबीच स्थानीयवासी र सेवाग्राहीहरूले अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीको संख्या वृद्धि गर्न, शय्या विस्तार गर्न, उपकरण उपलब्ध गराउन तथा दीर्घकालीन पूर्वाधार विकासमा ध्यान दिन सरकारसँग माग गरेका छन्।

स्वास्थ्य क्षेत्रका जानकारहरूले पनि सरकारी अस्पतालमा बढ्दो बिरामी चाप व्यवस्थापन गर्न योजनाबद्ध लगानी, संरचनागत सुधार र दक्ष जनशक्ति विस्तार आवश्यक रहेको औंल्याएका छन्। समयमै सुधार नभए स्वास्थ्य सेवा प्रवाह अझ जटिल बन्न सक्ने चेतावनीसमेत उनीहरूले दिएका छन्।


सम्बन्धित समाचार