३० जेठ,काठमाडौं । इरानले संयुक्त राज्य अमेरिकासँगको आणविक वार्ता अन्तरिम सम्झौता कार्यान्वयन नभएसम्म अघि नबढ्ने चेतावनी दिएको छ। इरानी विदेशमन्त्री अब्बास अराघचीले पूर्वनिर्धारित प्रावधानहरू पूरा नभएसम्म अन्तिम सम्झौतामा हस्ताक्षर नहुने स्पष्ट पारेका छन्।
इरानको इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (IRIB) सँग कुरा गर्दै विदेशमन्त्री अराघचीले प्रारम्भिक सम्झौतापछि अमेरिकालाई आफ्नो प्रतिबद्धता पूरा गर्न ६० दिनको समय दिइने र त्यसपछि मात्र स्थिति सहज हुने बताए।
उनका अनुसार समझदारी तथा ज्ञापनपत्रमा उल्लेख गरिएका सर्तहरू पूरा नभएसम्म अन्तिम सम्झौतामा हस्ताक्षर नहुने अडान इरानको रहेको छ।
अराघचीले इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले सामूहिक रूपमा निर्णय गर्ने र सबै प्रक्रिया पूरा भएपछि मात्र सम्झौता अनुमोदन हुने स्पष्ट पारे।
उनले अमेरिकी पक्षले विगतमा सम्झौता पूर्ण रूपमा पालना नगरेको आरोप लगाउँदै यसपटक पनि कार्यान्वयनमा चुनौती आउन सक्ने भन्दै इरान सतर्क रहेको बताए।
विदेशमन्त्री अराघचीका अनुसार सम्झौता उल्लङ्घन वा अवरोध सिर्जना भएमा इरान अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने अवस्थामा पुग्नेछ।
उनले इरानको सुरक्षाका लागि संयुक्त राष्ट्रसंघ वा बाह्य संस्थामा निर्भर नभई आफ्नै जनता, सरकार र सशस्त्र सेनाको समन्वयमा अघि बढ्ने नीति लिइने पनि बताए।
















