३० जेठ,वीरगञ्ज । नेकपा (एमाले) मधेश प्रदेश कमिटीले पार्टीको तर्फबाट निर्वाचित स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूका लागि एकदिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा स्थानीय तहको बजेट निर्माण, कार्यान्वयन तथा विकास योजनाको प्रभावकारी व्यवस्थापनका विषयमा प्रशिक्षण दिइएको एमाले मधेश प्रदेशका सचिव मनोज पौडेलले जानकारी दिए। उनका अनुसार हालसम्म भएका कामहरूको समीक्षा गर्दै आगामी आर्थिक वर्षको बजेट निर्माणलाई थप प्रभावकारी र जनमुखी बनाउने उद्देश्यले प्रशिक्षण सञ्चालन गरिएको हो।
प्रशिक्षण कार्यक्रममा एमाले केन्द्रीय स्थानीय विकास विभाग प्रमुख राजेन्द्र गौतम तथा विज्ञहरू गणेश तिमल्सिना र नवराज गेलालले सहजीकरण गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले स्थानीय तहका जनप्रतिनिधिलाई जनताको आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर बजेट निर्माण गर्न आग्रह गरे। उनले बजेट जनताको जीवनस्तरसँग प्रत्यक्ष जोडिने गरी तयार गर्नुपर्नेमा जोड दिए।
त्यसैगरी एमाले मधेश प्रदेश इञ्चार्ज लिलानाथ श्रेष्ठले स्थानीय पार्टी कमिटीसँग समन्वय र सहकार्य गरेर बजेट निर्माण प्रक्रिया अघि बढाउन निर्देशन दिए। उनले विकासका कार्यक्रमलाई जनमुखी र परिणाममुखी बनाउन पार्टी र जनप्रतिनिधिबीच सहकार्य आवश्यक रहेको बताए।
मधेश प्रदेश कमिटीका अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव मनोज पौडेलले सहजीकरण गरेका थिए भने उपाध्यक्ष बिचारी यादवले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्यहरू अच्युत मैनाली, प्रभु हजरा, मो. कैस, मधेश प्रदेश सरकारकी श्रम तथा यातायात मन्त्री सारदा थापालगायत पार्टीका तर्फबाट निर्वाचित स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
















