Logo

४ असार, काठमाडौं । भारतले नेपाली चिया निर्यातमा लगाएको अघोषित रोकले पूर्वी नेपालको अर्थतन्त्रमा गम्भीर संकट निम्त्याएको छ ।

इलामका ५६ वटा उद्योग बन्द भएको केही दिनमै, आज (असार ४ गते) देखि झापाका ३० भन्दा बढी चिया उद्योग र दुई दर्जनभन्दा बढी बगानहरू पूर्ण रूपमा बन्द भएका छन् । नेपाल चिया उत्पादक संघका अनुसार भारतमा निर्यात ठप्प भएपछि उद्योगहरूले चिया बिक्री गर्न नसकेर गोदाममै थन्काउन बाध्य भएका छन्, जसले गर्दा बजारको अभाव र वित्तीय संकटका कारण उद्योग सञ्चालन गर्न नसकिने अवस्था सिर्जना भएको छ ।

उद्योगीहरूले बारम्बार कूटनीतिक पहलका लागि सरकारसँग हारगुहार गरे पनि अपेक्षित सुनुवाइ नहुँदा यो कठोर कदम चाल्नुपरेको गुनासो गरेका छन् । संघका अध्यक्ष आदित्य पराजुलीका अनुसार, विगतमा यस्तो समस्या आउँदा सरकारले तदारुकता देखाउने गरे तापनि यस पटकको चरम बेवास्ताले व्यवसायीहरूलाई मर्माहत बनाएको छ ।

झापा र इलाम क्षेत्रमा वार्षिक करिब १४ अर्ब रुपैयाँ बराबरको चिया कारोबार हुने गरेकोमा भारतमा मात्रै ५ अर्बभन्दा बढीको निर्यात हुने गरेको छ । यो अवरोधले उक्त क्षेत्रका करिब ६० हजार श्रमिक, कर्मचारी र साना किसानको रोजीरोटीमाथि नै ठूलो प्रश्नचिह्न खडा गरिदिएको छ ।

यता, सरकारले भने यस विषयलाई गम्भीरतापूर्वक लिएको दाबी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले सदनमा जवाफ दिँदै नेपाली चिया निर्यातको अवरोध खुलाउन सरकारले उच्च कूटनीतिक पहल गरिरहेको बताएकी छिन् ।

उनले कृषि उपजको बजारीकरणका लागि विशेष योजना अघि बढाउने प्रतिबद्धता जनाए तापनि धरातलीय यथार्थमा उद्योगहरू बन्द हुँदा श्रमिक र किसानहरू भने बिचल्लीमा परेका छन् । निर्यातको वातावरण तत्काल नबने थप उद्योग बन्द हुने र यसले समग्र चिया क्षेत्रलाई नै धराशायी बनाउने चिन्ता व्यवसायीहरूको छ ।


सम्बन्धित समाचार
भर्खरै