Logo

४असार,चितवन । बैकुण्ठधाम क्षेत्रको पदयात्रामा धनलक्ष्मी झरनातर्फ अघि बढ्ने जो–कोही यात्रुको ध्यान तान्ने मध्येको प्राकृतिक दृश्य हो—खोलाको किनारमा मजबुत रूपमा उभिएको करिब ३५ फिट गोलाइ भएको विशाल जङ्गे साल र त्यसका हाँगामा लहरिएका सुनखरी (अर्किड) का सुन्दर फूलहरू। घना जङ्गलको शीतल वातावरण, चिसो हावाको स्पर्श, चराचुरुङ्गीको निरन्तर चिरबिराहट र खोलाको कलकल आवाजले भरिएको यस क्षेत्रमा प्रवेश गर्नेबित्तिकै यात्रुहरू प्रकृतिको गहिरो शान्तिमा हराउँछन्।

उकाली–ओराली र जङ्गल यात्राबाट थकित भएका पर्यटकहरू जङ्गे सालको छहारीमा पुग्दा केही क्षणमै शरीरको थकान बिर्सन्छन्। फूलको सुगन्ध, हरियाली वातावरण र चिसो हावाले त्यहाँ बस्ने सबैलाई अनौठो सान्त्वना र ताजगी प्रदान गर्छ। यही कारणले धेरै पर्यटकहरू त्यहाँ केहीबेर विश्राम गर्दै फोटो खिच्ने, वातावरण महसुस गर्ने र प्रकृतिसँग नजिकिने गर्छन्। धनलक्ष्मी झरना जाने बाटोमै रहेको यो स्थान अहिले पर्यटकहरूको प्रमुख आकर्षण बन्दै गएको छ।

बैकुण्ठधाम समितिका अध्यक्ष राजकुमार परियारका अनुसार यो प्राचीन जङ्गे सालसँग धार्मिक आस्था र जनविश्वास पनि जोडिएको छ। स्थानीय किंवदन्ती अनुसार राम वनवासका क्रममा भगवान रामले यही वृक्षको फेदमा बसेर विश्राम गरेको विश्वास गरिन्छ। यसले यस वृक्षलाई केवल प्राकृतिक सम्पदा मात्र नभई धार्मिक र सांस्कृतिक महत्व बोकेको स्थलका रूपमा पनि चिनाएको छ।

तर, धनलक्ष्मी झरनासम्म पुग्ने यो पदमार्गको आकर्षण केवल जङ्गे साल र सुनखरीमा मात्र सीमित छैन। यात्राका क्रममा परशु ढुङ्गा, मनमोहक भीर, दुई खोलीको दोभान, बैकुण्ठ ताल, विभिन्न शिलाचिन्हहरू तथा हाल चर्चामा रहेका सम्भावित पुरातात्विक संरचनाहरूले यात्रालाई अझ रहस्यमय, रोचक र अर्थपूर्ण बनाउँछन्। बाटोभरि फैलिएको हरियाली, खोलाको किनार, चिसो हावा र जङ्गलको प्राकृतिक सौन्दर्यले यात्रुलाई निरन्तर आकर्षित गरिरहन्छ।

परशु ढुङ्गा यस क्षेत्रको एक विशेष आकर्षणका रूपमा रहेको छ, जसले धार्मिक र ऐतिहासिक संकेत बोकेको अनुमान गरिन्छ। मनमोहक भीरले यात्राको रोमाञ्चकता बढाउँछ भने दुई खोली दोभानमा दुई खोलाको संगमले प्रकृतिको अनुपम सौन्दर्य उजागर गर्छ। त्यस क्षेत्रमा रहेका पबित्र तालको शान्त पानी र वरिपरिका हरिया डाँडाहरूले यो सम्पूर्ण क्षेत्रलाई अझ मनमोहक बनाएको छ।

जङ्गल यात्राका क्रममा चराचुरुङ्गीको आवाज, विभिन्न जातीका रुख तथा जडिबुटीहरूबीचको चिसो हावा र बाटोभरि देखिने प्राकृतिक संरचनाहरूले यात्रालाई निरन्तर जीवन्त बनाइरहन्छन्। उकाली–ओराली पार गर्दै अघि बढ्दा थकान भए पनि यही प्राकृतिक वातावरणले यात्रुलाई ऊर्जा र शान्ति दुवै प्रदान गर्छ।

हाल धनलक्ष्मी झरना क्षेत्रमा देखिएका ढुङ्गाका संरचना, चक्राकार शिलाचिन्ह र अन्य संकेतहरूले यहाँ कुनै प्राचीन सभ्यता वा धार्मिक गतिविधि थियो कि भन्ने विषयमा चासो र बहस बढाइरहेका छन्। यद्यपि यसको वैज्ञानिक पुष्टि भने अझै अनुसन्धानको पर्खाइमा छ।

अहिलेका लागि यो क्षेत्र प्राकृतिक सौन्दर्यले भरिएको मनमोहक गन्तव्य हो। तर जङ्गे साल, सुनखरी फूल, परशु ढुङ्गा, दोभान, भीर, ताल र सम्भावित पुरातात्विक संकेतहरूको संयुक्त उपस्थितिले बैकुण्ठधाम–धनलक्ष्मी झरना क्षेत्रलाई माडीको पर्यटन विकासमा नयाँ सम्भावनाको केन्द्रका रूपमा स्थापित गरिरहेको छ।


सम्बन्धित समाचार
भर्खरै