४ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो संगठनात्मक संरचनालाई थप विस्तार गर्दै पदाधिकारीको सङ्ख्या १९ सदस्यीय पुर्याउने निर्णय गरेको छ ।
बिहीबार बसेको सचिवालय बैठकले विधान संशोधन गर्दै नयाँ संरचनालाई औपचारिकता दिएको हो । पार्टीले यसअघिको संरचनामा एक जना ‘वरिष्ठ नेता’ र एक जना अतिरिक्त ‘सहमहामन्त्री’ को पद थप गरेको छ । यसअघि रास्वपामा वरिष्ठ नेताको व्यवस्था थिएन भने सहमहामन्त्रीको सङ्ख्या चार मात्र रहेको थियो ।
संशोधित विधान अनुसार अब रास्वपाको पदाधिकारी समितिमा एक सभापति, एक वरिष्ठ नेता, तीन उपसभापति (जसमा एक महिला अनिवार्य), दुई महामन्त्री, पाँच सहमहामन्त्री (एक महिला अनिवार्य), एक प्रवक्ता, तीन सह–प्रवक्ता (एक महिला अनिवार्य), एक कोषाध्यक्ष र दुई सह–कोषाध्यक्ष (एक महिला अनिवार्य) रहनेछन् ।
यसअघि विपिन नेतृत्वको विधान संशोधन समितिले १६ सदस्यीय पदाधिकारी रहने प्रस्ताव गरेको भए पनि पार्टी सचिवालयले त्यसलाई परिमार्जन गर्दै १९ सदस्यीय बनाउने निर्णय गरेको हो ।
पार्टीको यो निर्णयसँगै सांगठनिक ढाँचामा थप समावेशीता र कार्यविभाजनको स्पष्टता खोजिएको देखिन्छ । विशेष गरी महिला प्रतिनिधित्वलाई सुनिश्चित गर्दै पदाधिकारीको जिम्मेवारी बाँडफाँट गरिएको छ ।
विधानमा गरिएको यो पछिल्लो संशोधनले रास्वपाभित्रको शक्ति सन्तुलन र कार्यसम्पादनलाई कस्तो प्रभाव पार्छ, त्यो भने आगामी दिनमा देखिनेछ । पदाधिकारीको सङ्ख्या बढाएर पार्टीलाई थप सुदृढ र चलायमान बनाउने उद्देश्यसहित यो सांगठनिक फेरबदल गरिएको पार्टी स्रोतको भनाइ छ ।
















