७ असार, भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको सदरमुकाम भरतपुरमा भव्य रूपमा सुरु हुँदै छ । महाधिवेशनको सम्पूर्ण व्यवस्थापकीय तथा प्राविधिक तयारी पूरा भइसकेको रास्वपा चितवनका अध्यक्ष मिनीमाधव खनालले जानकारी दिएका छन् ।
महाधिवेशनलाई केन्द्रित गरी चितवन यतिखेर रास्वपाको ब्यानर, प्लेकार्ड र तोरणले झकिझकाउ बनेको छ भने प्रतिनिधिहरूलाई स्वागत गर्न ठाउँठाउँमा स्वागत गेटहरू निर्माण गरिएका छन् । महाधिवेशनमा भाग लिन देश तथा विदेशबाट प्रतिनिधिहरू र केन्द्रीय नेताहरू भरतपुर आउने क्रम पूर्ण भइसकेको छ ।
महाधिवेशनको उद्घाटन समारोह भरतपुर महानगरपालिका–१० स्थित जिल्ला प्रहरी कार्यालय अगाडिको गेष्ट हाउस चौरमा आयोजना गरिएको छ । यसका लागि करिब तीन हजार वर्गमिटर क्षेत्रफलमा जर्मन प्रविधिमा आधारित आल्मुनियम संरचनायुक्त अत्याधुनिक डोम निर्माण गरिएको छ ।
आज दिउँसो ठीक २ बजे प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह र पार्टी सभापति रवि लामिछानेले संयुक्त रूपमा महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन समारोहमा नेपालका राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेताहरूका साथै देश-विदेशका उच्च राजनीतिक व्यक्तित्वहरूको समेत उपस्थिति रहने रास्वपाका केन्द्रीय सदस्य राजन गौतमले बताए ।
यस महाधिवेशनमा रास्वपाले डिजिटल प्रणालीको प्रयोग गर्दै विद्युतीय उपकरणमार्फत मतदान गराउने भएको छ। निर्वाचन समितिका अनुसार प्रतिनिधिहरूले विद्युतीय मेसिनमा उम्मेदवारको नाम र फोटोमा सिधै स्पर्श (टच) गरेर मतदान गर्न सक्नेछन् ।
पहिलो चरणमा एक जना सभापति र ९९ जना केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ । असार ८ गते दिउँसो २ बजेदेखि मनोनयन प्रक्रिया सुरु गरी सोही दिन साँझ पहिलो चरणको मतदान सम्पन्न गरिनेछ। पहिलो चरणको परिणाम आएलगत्तै भोलिपल्ट निर्वाचित सदस्यहरूबाट पदाधिकारीहरूको चयन गरिने रास्वपा नेता अधिवक्ता यज्ञमणि न्यौपानेले जानकारी दिए ।
यसअघि बन्दसत्र सञ्चालन गरिने स्थल उद्योग सङ्घ चितवनको प्रदर्शनी कक्ष (हल) लाई लिएर देखिएको विवाद अन्ततः सुल्झिएको छ। उद्योग मन्त्रालय र जिल्ला सुरक्षा समितिले पत्र नै लेखेर आग्रह गरेपछि चितवन उद्योग सङ्घले हल उपलब्ध गराउने सहमति जनाएको हो। सहमतिसँगै रास्वपाले हलको आन्तरिक सरसफाइ र व्यवस्थापनको काम पनि सम्पन्न गरिसकेको छ ।
महाधिवेशनका कारण भरतपुरमा हुन सक्ने सवारी चापलाई व्यवस्थापन गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले विशेष योजना लागू गरेको छ । ट्राफिक व्यवस्थापन सहज बनाउन पहिलो पटक ड्रोनद्वारा सडकहरूको अनुगमन गरिने चितवनका प्रमुख ट्राफिक प्रहरी निरीक्षक अनिल थापाले बताए ।
ट्राफिक प्रहरीले पश्चिमतर्फबाट आउने सवारीसाधनलाई चितवन माध्यमिक विद्यालयको चौरमा, पूर्वबाट आउने सवारीलाई विशाल चोक र केन्द्रीय बसपार्कमा पार्किङको व्यवस्था मिलाएको छ । मोटरसाइकलका लागि भरतपुर अस्पताल अगाडिको मूल सडक तोकिएको छ ।
चारपाङ्ग्रे गाडी पार्किङ स्थलबाट कार्यक्रम स्थलसम्म जानका लागि बसको व्यवस्था मिलाइएको छ । साथै, मालपोत चोकदेखि चौबिसकोठी तथा दूरसञ्चार र हाकिम चोकदेखि भरतपुर अस्पतालसम्मको सडक खण्डमा सवारीसाधन सञ्चालनमा पूर्ण निषेध गरिएको छ ।
















