Logo

७ असार, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम महाधिवेशनमार्फत पार्टीमा समायोजन भई आएका नेता–कार्यकर्ताहरूको उचित व्यवस्थापन गर्ने रणनीति सार्वजनिक गरेको छ ।

पार्टी प्रवेश गरेको छोटो समयमै चुनावी प्रतिस्पर्धामा उत्रिन उनीहरूलाई असहज हुने निष्कर्ष निकाल्दै सभापति रवि लामिछानेले चुनावी प्रक्रिया बाहिरैबाट उनीहरूलाई समेट्ने योजना अघि सारेका हुन् ।

आमनिर्वाचनअघि बालेन समर्थक समूह, विवेकशील साझा, खगेन्द्र सुनुवार नेतृत्वको समूह र थरुहट आन्दोलनका विभिन्न व्यक्तित्वहरू रास्वपामा समाहित भएका थिए । पार्टीमा सक्रिय रहेर पनि हालसम्म कुनै लाभको पदमा अवसर नपाएका यस्ता नेताहरूलाई सभापतिले केन्द्रीय सदस्यमा मनोनयन गर्ने तयारी गरेका हुन् । यसै प्रयोजनका लागि पार्टीले आफ्नो केन्द्रीय समितिको आकार बढाएर १५८ सदस्यीय पुर्‍याएको छ ।

हिजो बसेको केन्द्रीय समितिको बैठकमा सभापति लामिछानेले समायोजन भएर आएकाहरूको योगदान र उनीहरूको अवस्थाबारे आफू जानकार रहेको बताउँदै कुनै पनि अन्याय हुन नदिने प्रतिबद्धता जनाएका छन् ।

पार्टीमा भर्खरै प्रवेश गरेकाहरूलाई चुनावी प्रतिस्पर्धामा होमिन कठिन हुने यथार्थलाई स्वीकार गर्दै सभापतिले मनोनयनको माध्यमबाट उनीहरूलाई उचित स्थान दिने योजना बनाएका हुन् । लामिछानेको यो निर्णयले पार्टीभित्रको समायोजन र एकतालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार