Logo

८ असार, काठमाडौं । कतारको रास लाफान औद्योगिक सहरमा रहेको एक ग्यास प्लान्टमा भीषण विस्फोट हुँदा ठूलो मानवीय क्षति भएको छ ।

कतारको गृह मन्त्रालयले दिएको जानकारीअनुसार, प्राविधिक त्रुटिका कारण भएको यस दुर्घटनामा ५४ जना मजदुर घाइते भएका छन् भने १८ जना अझै बेपत्ता रहेका छन् । स्थानीय समयअनुसार बिहानै प्लान्टमा ठूलो आगलागीपछि विस्फोट भएको थियो, जसको आवाज राजधानी दोहासम्म सुनिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

घटनालगत्तै कतार अन्तर्राष्ट्रिय खोज तथा उद्धार समूह र नागरिक सुरक्षा टोली परिचालन गरी बेपत्ताहरूको खोजी कार्य तीव्र पारिएको छ । अधिकारीहरूले हाल आगो पूर्ण रूपमा नियन्त्रणमा आइसकेको र थप ग्यास चुहावटको जोखिम नरहेको स्पष्ट पारेका छन् ।

यद्यपि, विस्फोटबाट प्लान्टको भौतिक संरचनामा भएको क्षति र घरेलु बजारमा हुने ग्यास आपूर्तिको अवस्थाबारे मन्त्रालयले विस्तृत विवरण सार्वजनिक गरिसकेको छैन । यो घटनाले कतारको प्रमुख औद्योगिक केन्द्रमा सुरक्षा व्यवस्थालाई लिएर पुनः चासो बढाएको छ ।


सम्बन्धित समाचार