८ असार, काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले लगानीकर्ताहरूका लागि १० वर्षे अवधिको आकर्षक ऋणपत्र निष्काशन गर्ने भएको छ ।
बैंकले वार्षिक ६.२५ प्रतिशत ब्याजदर दिने गरी ‘प्राइम बैंक डिबेञ्चर २०९३’ नामक ऋणपत्र यही असार १६ गतेदेखि बिक्री खुला गर्न लागेको हो । कुल ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत व्यक्तिगत तवरबाट र ४० प्रतिशत सर्वसाधारणका लागि छुट्याइएको छ । सर्वसाधारणमा वितरण गरिने कित्तामध्ये ५ प्रतिशत सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ ।
यस ऋणपत्रमा इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको यस ऋणपत्रको आवेदन छिटोमा असार १९ गते र ढिलोमा असार ३० गतेसम्म खुल्ला रहनेछ ।
लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था वा ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत सहजै आवेदन दिन सक्नेछन् । बैंकले ल्याएको यो ऋणपत्र दीर्घकालीन सुरक्षित लगानीको अवसर खोज्नेहरूका लागि एक महत्वपूर्ण विकल्प बन्न सक्ने देखिन्छ ।















