८ असार, काठमाडौं । विभिन्न कानुनी मुद्दामा विवादित व्यवसायी दीपक भट्टसहितका प्रभावशाली व्यक्तिहरू तानिएपछि उनीहरूसँग प्रत्यक्ष आबद्ध १८ वटा कम्पनीको वित्तीय जोखिमको सूचक निगरानीमा परेको छ ।
क्रेडिट रेटिङ एजेन्सी ‘इन्फोमेरिक्स नेपाल’ ले कानुनी जटिलतामा फसेका प्रवर्द्धक तथा सञ्चालकहरू संलग्न रहेका यी कम्पनीहरूको क्रेडिट रेटिङलाई ‘क्रेडिट वाच विथ नेगेटिभ इम्प्लिकेसन्स’ (नकारात्मक प्रभावसहितको निगरानी) मा राखेको हो । यस कदमले ती कम्पनीहरूको करिब एक खर्ब रुपैयाँभन्दा बढीको कर्पोरेट ऋण तथा लगानीमा भविष्यमा उत्पन्न हुन सक्ने जोखीमप्रति संकेत गरेको छ ।
कानुनी प्रक्रियाले बढाएको अनिश्चितता
सरकारले हालै धितोपत्र, बीमा, सम्पत्ति शुद्धीकरण र बैंकिङ कसुरसम्बन्धी मुद्दामा ठूलो संख्यामा प्रतिवादीहरूलाई अदालतमा उभ्याएको छ। तीमध्ये कतिपय व्यक्तिहरू सार्वजनिक कम्पनी र ठूला व्यावसायिक घरानाका प्रमुख पदमा बहाल रहेकाले यसले कम्पनीहरूको निर्णय प्रक्रिया, वित्तीय स्रोत परिचालन र बजार प्रतिष्ठामा गम्भीर असर पार्ने देखिएको छ ।
इन्फोमेरिक्सले कम्पनीहरू दोषी प्रमाणित नभए पनि कानुनी अनिश्चितताका कारण व्यवस्थापनमा पर्न सक्ने प्रभाव र संस्थागत सुशासनमा उत्पन्न हुन सक्ने संशयलाई आधार मानेर यो निर्णय लिएको स्पष्ट पारेको छ ।
निगरानीको असर र बजारमा प्रभाव
रेटिङ निगरानीमा परेका अधिकांश कम्पनीहरू उत्पादन, व्यापार, सेवा र वित्तीय क्षेत्रका छन् । एजेन्सीका अनुसार कानुनी मुद्दाको किनारा नलाग्दासम्म कम्पनीहरूको वित्तीय क्षमता र बैंक तथा ऋणदाताहरूको विश्वास प्रभावित हुन सक्ने जोखिम छ ।
विश्लेषकहरूले यस घटनालाई कर्पोरेट क्षेत्रमा पारदर्शिता र सुशासनको ठूलो चुनौतीका रूपमा हेरेका छन् । आगामी दिनमा अदालतको फैसला, व्यवस्थापनमा हुने परिवर्तन र कम्पनीहरूको कार्यसम्पादनका आधारमा मात्रै रेटिङ पुनरावलोकन हुने भएकाले यतिबेला बैंक, वित्तीय संस्था र लगानीकर्ताहरूलाई यी कम्पनीहरूको जोखिम प्रोफाइल नजिकबाट नियाल्न थप दबाब सिर्जना भएको छ ।















