१० असार, गरुडा (रौतहट) । रौतहटको गरुडाबाट चोरी भएको एक मोटरसाइकललाई प्रहरीले ३० मिनेटभित्रै फेला गर्न सफल भएको छ । चोरीमा संलग्न दुई जना आरोपीलाई समेत प्रहरीले रङ्गेहात पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा गढीमाई नगरपालिका–६ बस्ने २० वर्षीय अनिल कुमार साह र सोही स्थानका २० वर्षीय राम नारायण यादव रहेका छन् । इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शंकर प्रसाद आचार्यका अनुसार उनीहरूलाई चोरीको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको हो ।
मंगलबार बेलुकी साढे ६ बजे गरुडा नगरपालिका–४ स्थित एक घर अगाडि पार्किङ गरी राखिएको बा.प्र.०२-०४१ प ३८४९ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल अचानक चोरी भएको थियो । सवारीधनीले आफ्नो मोटरसाइकल गायब भएको थाहा पाउनेबित्तिकै तत्कालै प्रहरीलाई खबर गरेका थिए ।
मोटरसाइकल चोरी भएको सूचना नियन्त्रण कक्षबाट प्राप्त हुनासाथ गढीमाई नगरपालिका–६ स्थित प्रहरी चौकी धर्मपुरको टोली तुरुन्तै ‘अलर्ट’ भयो । तस्कर र चोरहरू भाग्न सक्ने सम्भावित बाटोको आकलन गर्दै प्रहरी टोलीले धर्मपुर गाउँबाट बाहिर निस्किने एक मात्र मुख्य पुलमा तत्काल घेराबन्दी (नाकाबन्दी) गर्यो ।
पुलमा कडा निगरानी राख्दै सवारी साधन चेकजाँच गर्ने क्रममा बेलुकी ठीक ७ बजे चोरीको सोही पल्सर मोटरसाइकल चढेर भाग्दै गरेका साह र यादवलाई प्रहरीले पक्राउ गर्न सफल भयो ।
पक्राउ परेका दुवै जना आरोपीलाई अहिले इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा राखिएको छ । उनीहरूविरुद्ध मुलुकी अपराध संहिता बमोजिम चोरी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाइएको डीएसपी आचार्यले जानकारी दिए ।

















