Logo

१० असार,वीरगञ्ज । चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालमा २५ अर्ब ५५ करोड ९९ लाख १६ हजार रुपैयाँ बराबरका १० हजार ८४५ वटा विद्युतीय सवारीसाधन (ईभी) आयात भएका छन्।

भन्सार विभागका अनुसार साउनदेखि जेठ मसान्तसम्मको अवधिमा ५० किलोवाटदेखि २०१ किलोवाट क्षमतासम्मका विभिन्न मोडलका विद्युतीय गाडी नेपाल भित्रिएका हुन्।

विभागको तथ्यांकअनुसार ५० किलोवाट क्षमताका तीन हजार ६८० वटा विद्युतीय गाडी आयात भएका छन्। ती गाडीको कुल मूल्य पाँच अर्ब ६५ करोड रुपैयाँ रहेको छ।

त्यसैगरी ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताका छ हजार ३५७ वटा विद्युतीय गाडी आयात भएका छन्। यी सवारीसाधनको कुल मूल्य १६ अर्ब ४९ करोड ७९ लाख ४६ हजार रुपैयाँ रहेको विभागले जनाएको छ।

पछिल्ला वर्षहरूमा नेपालमा विद्युतीय सवारीप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको छ। इन्धन खर्चमा बचत, वातावरणमैत्री प्रविधि तथा सरकारी नीतिगत प्रोत्साहनका कारण विद्युतीय गाडीको आयात र प्रयोग उल्लेख्य रूपमा वृद्धि भइरहेको देखिन्छ।

विद्युतीय सवारीको बढ्दो प्रयोगसँगै चार्जिङ पूर्वाधार विस्तार तथा ऊर्जा व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता पनि बढ्दै गएको सरोकारवालाहरूको भनाइ छ।


सम्बन्धित समाचार
भर्खरै