१० असार, काठमाडौं । काठमाडौँ महानगरपालिकाले सडकपेटीमा व्यापार तथा जीविकोपार्जन गर्दै आएका दृष्टिविहीनहरूलाई कुनै पनि उचित विकल्प नदिई बलपूर्वक हटाउन थालेपछि राजधानीको माइतीघर क्षेत्र अहिले आन्दोलित बनेको छ ।
केही दिनयता सडकपेटी, चोक र मठमन्दिरका आसपास बसेर आफ्नो गुजारा चलाउँदै आएका दृष्टिविहीनहरू नगर प्रहरीको दमन र धरपकड विरुद्ध सडकमा उत्रिएका हुन् ।
आन्दोलित दृष्टिविहीनहरूको मुख्य माग ‘उचित व्यवस्थापन र जीविकोपार्जनको ग्यारेन्टी’ रहेको छ । उनीहरूले आफूहरूलाई रहरले नभई बाध्यताले सडकपेटीमा बस्नुपरेको भन्दै, राज्यले आफूहरूको गाँस खोस्ने गरी गरेको धरपकड तत्काल बन्द गर्नुपर्ने अडान राखेका छन् ।
उनीहरूका अनुसार, “घाम, पानी, धुलो र धुवाँ सहेर बाँच्नु हाम्रो रहर होइन, बाध्यता हो ।” सरकारले विकल्प नदिँदासम्म आफूहरू सडकपेटी नछोड्ने चेतावनी दिँदै उनीहरूले न्याय र उचित व्यवस्थापनका लागि सरकारसँग गम्भीर वार्ताको माग गरेका छन् । नगर प्रहरीको दमनले गर्दा बाँच्न पाउने अधिकारसमेत खोसिएको भन्दै उनीहरूले राज्यको संवेदनशील ध्यानाकर्षण गराएका छन् ।


















