Logo

१० असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यका साथ आज ७० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ ।

केन्द्रीय बैंकले ७९ दिनको अवधिका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम उठाउन लागेको हो । यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई बोलकबोल प्रक्रियामा सहभागी हुन आह्वान गरेको छ ।

यस उपकरणको ब्याजदर बोलकबोलको माध्यमबाट नै तय हुनेछ भने साँवा तथा ब्याज भुक्तानी आगामी भदौ २६ गते गरिनेछ । बोलकबोलमा सहभागी हुने बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि ५ करोडको गुणांकमा आफूले चाहेको रकमका लागि आवेदन दिन सक्नेछन् ।

राष्ट्र बैंकले निक्षेप संकलन गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थाहरूलाई प्राथमिकतामा राखी आह्वान गरिएको कुल रकमसम्म बाँडफाँड गर्ने नीति लिएको छ । वित्तीय प्रणालीमा रहेको तरलतालाई सन्तुलनमा राख्न राष्ट्र बैंकले यस प्रकारका उपकरणहरूको प्रयोगलाई निरन्तरता दिँदै आएको छ ।


सम्बन्धित समाचार
भर्खरै