Logo

१० असार, काठमाडौं । सरकारले श्रमिकहरूलाई तोकिएको न्यूनतम ज्याला उपलब्ध नगराउने रोजगारदातामाथि कडा कानुनी कारबाही गरिने चेतावनी दिएको छ ।

युवा, श्रम तथा रोजगार मन्त्रालयका सचिव डा. दीपक काफ्लेले न्यूनतम ज्याला भन्दा कम तलब दिएर काममा लगाउनु कानुन विपरीतको कार्य भएको स्पष्ट पार्दै यस्तो चेतावनी दिएका हुन् । बुधबार काठमाडौँमा आयोजित व्यवसाय र मानव अधिकारसम्बन्धी राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै उनले प्रत्येक श्रमिकले न्यूनतम ज्याला पाउनु पर्नेमा सरकारले विशेष जोड दिएको बताए ।

सचिव काफ्लेले श्रमिकहरूको मानव अधिकार हनन हुन नदिन र उनीहरूको सामाजिक सुरक्षा सुनिश्चित गर्न मन्त्रालयले स्पष्ट कार्ययोजना अघि बढाएको जानकारी दिए ।

श्रममा आबद्ध भएकै समयमा भविष्यको जीवन रक्षाका लागि सामाजिक सुरक्षाको सुनिश्चितता हुनुपर्नेमा जोड दिँदै उनले शारीरिक वा मानसिक रूपमा थप श्रमदान गर्न नसक्ने अवस्थामा पुगेका श्रमिकको सुरक्षामा सरकार गम्भीर रहेको बताए । यसका साथै, वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूको अधिकार संरक्षणका लागि पनि सरकार उत्तिकै प्रतिबद्ध रहेको उनले दाबी गरे ।


सम्बन्धित समाचार
भर्खरै