Logo

१३ असार, काठमाडौँ । मनसुन अझै देशभर फैलिन सकेको छैन ।

यसपालि ६ दिन ढिला गरी असार ५ गते भित्रिएको मनसुन अहिलेसम्म देशव्यापी फैलिएको छैन।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन अहिले कोशी, मधेस र बागमती प्रदेशका सम्पुर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ।

अन्य भू-भागमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ।

महाशाखाले मनसुन देशभरि फैलिन अझै ४-५ दिन लाग्न सक्ने बताएको छ।

तराईका भूभागमा पानी नपर्दा गर्मी अत्यधिक बढेको छ।

लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा अत्यधिक गर्मी बढ्दा जनजीवन प्रभावित भएको छ। आज पनि यी दुई प्रदेशको तराईका भूभागमा तातो लहर चल्ने पूर्वानुमान महाशाखाले गरेको छ।

शनिबार बिहान कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ।

महाशाखाका अनुसार चितवनको सिलिंगेमा पछिल्लो एक घन्टामा १९.८ मिलिमिटर वर्षा भएको छ। रूपन्देहीको सैनामैनामा १४.२ मिलिमिटर र बैतडीको गोठालापाटीमा १५.६ मिलिमिटर वर्षा भएको छ।

पछिल्लो चौबीस घन्टामा प्यूठानको सेउलीबाङमा ९९.८ मिलिमिटर, देवघाटमा ८५.८ मिलिमिटर वर्षा मापन भएको छ।

अरू विभिन्न ठाउँमा हल्कादेखि मध्यम र भारी वर्षा भएको छ।

शनिबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।

कोशी प्रदेशका तराई भू-भाग तथा मधेश प्रदेशका थोरै स्थानमा, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा तातो लहर हुने सम्भावना छ।

शनिबार राति कोशी प्रदेशका तराई भू-भाग तथा मधेश प्रदेशको केही स्थानमा, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कोशी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।


सम्बन्धित समाचार