Logo

१३ असार, माडी । माडी प्रज्ञा प्रतिष्ठानको आयोजनामा माडी–४ स्थित खैरहनी माध्यमिक विद्यालयमा नगरस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। विद्यार्थीमा अध्ययन संस्कृतिको विकास, सामान्य ज्ञान अभिवृद्धि, तार्किक क्षमता विस्तार तथा स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गराउने उद्देश्यले आयोजित प्रतियोगितामा माडी नगरपालिकाभित्रका आठ विद्यालय सहभागी भएका थिए ।

प्रतियोगितामा जनजीवन माध्यमिक विद्यालय प्रथम, माडी माध्यमिक विद्यालय द्वितीय तथा दिवाकर स्मृति माध्यमिक विद्यालय तृतीय हुन सफल भएका छन्। विजयी विद्यालय तथा विद्यार्थीलाई बधाई दिँदै अतिथिहरूले यस्ता शैक्षिक प्रतियोगिताले विद्यार्थीको आत्मविश्वास, सिर्जनशीलता, विश्लेषण क्षमता र ज्ञानको दायरा विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै माडी प्रज्ञा प्रतिष्ठानकी सदस्य इन्दिरा दाहालले प्रज्ञा प्रतिष्ठानले माडीको भाषा, साहित्य, कला, संस्कृति, इतिहास तथा पुरातात्त्विक सम्पदाको खोज, अनुसन्धान, संरक्षण र प्रवर्द्धनलाई प्राथमिकतामा राखेर विभिन्न सिर्जनात्मक तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको बताइन्। हाजिरीजवाफजस्ता बौद्धिक प्रतियोगिताले विद्यार्थीमा अध्ययनप्रतिको रुचि बढाउनुका साथै स्थानीय भाषा, संस्कृति र मौलिक सम्पदाप्रति अपनत्वको भावना विकास गर्न महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ थियो ।

नगर प्रमुख ताराकाजी महतोले माडीको शैक्षिक, साहित्यिक तथा सांस्कृतिक विकासलाई सुदृढ बनाउन प्रज्ञा प्रतिष्ठानले खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गरिन्। भाषा, कला, इतिहास र संस्कृतिको संरक्षणसँगै नयाँ पुस्तालाई आफ्नो मौलिक पहिचानसँग जोड्ने अभियानमा नगरपालिकाले निरन्तर साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै यस्ता कार्यक्रमलाई अझ प्रभावकारी र व्यापक बनाइने बताइन् ।

प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले विद्यालयस्तरमा आयोजना हुने हाजिरीजवाफजस्ता प्रतियोगिताले विद्यार्थीमा अध्ययन गर्ने बानी, तार्किक विश्लेषण क्षमता, अनुशासन र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने बताए । माडी प्रज्ञा प्रतिष्ठानले सञ्चालन गरिरहेका शैक्षिक तथा सांस्कृतिक गतिविधिलाई नगरपालिकाले सकारात्मक रूपमा लिएको उल्लेख गर्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाउन आवश्यक सहकार्य र सहयोग रहने धारणा व्यक्त गरे ।

कार्यक्रममा माडी प्रज्ञा प्रतिष्ठानका पदाधिकारी, जनप्रतिनिधि, वडा अध्यक्ष, विभिन्न विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको खैरहनी माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तोष दाहालले जानकारी दिए ।

कार्यक्रमको सञ्चालन प्रविण भण्डारी र नारायण दुबे पोख्रेलले गरेका थिए। प्रतियोगिता माडी प्रज्ञा प्रतिष्ठानकी सदस्य इन्दिरा दाहालको सभाध्यक्षता तथा माडी नगरपालिकाका नगर प्रमुख ताराकाजी महतोको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।


सम्बन्धित समाचार
भर्खरै